रंगखबर, काठमाडौँ – फिल्म ‘ए मेरो हजुर ४’को मध्यम व्यापार र ‘छड्के २’को डिजास्टर भर्डिक्टपछि अभिनेता अनमोल केसीको स्टारडमलाई लिएर प्रश्नचिन्ह खडा भएको थियो। तर, त्यसपछि रिलिज ‘फर्की फर्की’को व्यापारले अनमोलको स्टारडमलाई केहि हदसम्म फर्काएको पुष्टि गरिदियो।
यस्तै गतवर्ष रिलिज भएको ‘जेरी अन टप’ले सम्पूर्ण प्रश्नहरुको जवाफ दिंदै अनमोलको बक्सअफिस विरासत पुनर्स्थापित गरिदियो। उक्त फिल्म अनमोलको करिअरकै सर्वाधिक कमाउने फिल्म मात्र बनेन, बरु उनको दोस्रो अध्याय सुरु गर्ने कडी बनिदिएको छ । ‘जेरी अन टप’को सफलतासंगै अनमोलको आगामी पाइपलाइन जबर्जस्त देखिएको छ।
नयाँ वर्ष २०८३ को सुरुवातमै उनले आगामी ४ फिल्मको लाइनअप फेसबुकमार्फत सार्वजनिक गरेका छन्। अनमोलका प्रशंसकहरुका लागि यो भन्दा ठुलो उपहार के नै हुन् सक्छ र ? रोचक कुरा त यो छ कि, १३ वर्षे लामो करिअरमा अनमोलले अहिलेसम्म एकसाथ यति लामो लाइनअप सार्वजनिक गरेका थिएनन्।
सनराइज पिक्चर्सको व्यानरमा निर्माण भैरहेको ‘बाटुलो जुन’ सम्भवत दर्शकमाझ पुग्ने उनको पहिलो फिल्म हुनेछ। सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ५’बाट उनि सफल सिरिजमा फर्किनेछन। एप्पल इन्टरटेनमेन्टको व्यानरमा बन्ने रोमान्टिक कमेडी ‘बिफोर वी मेट’ जेनजी लक्षित गरिएको छ । यस्तै उनि आफ्नो सर्वाधिक सफल फिल्म ‘जेरी अन टप’को तेस्रो शृंखला ‘जेरी: द लास्ट क्लाइम्ब’मा पनि शिर्ष भूमिकामा देखिनेछन ।

