रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष पदमा समीर बलामी पुन: निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न दशौँ महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कुल खसेको १ सय ४० मतमध्ये बलामीले ९५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी जीवन पराजुलीले ४२ मत ल्याए । उपाध्यक्ष (कार्यक्रम) तर्फ कुमार आचार्य निर्विरोध चयन हुँदा (संगठन ) तर्फ रघुनाथ सापकोटा (७३)ले नविन गिरी (६२)लाई ११ मतान्तरले पराजित गरे । उपाध्यक्ष (महिला ) तर्फ दीपज्योति थापाले ७५ मत ल्याउदै विजयी हुँदा सुष्मा कार्कीले ६२ मत प्राप्त गरिन ।
यस्तै संघको महासचिव पदमा गोपीकृष्ण चापागाईंले ५४ मत ल्याएर जित्दा उनका निकटतम प्रतिद्वन्दी मनिष कार्कीले ४४ मत प्राप्त गरे । सचिवमा मदन रिजालले निकटतम प्रतिद्वन्दी सुरेन्द्र थापा मगरलाई दोब्बर बढी मतले पराजित गरे । रिजालले ९४ मत प्राप्त गर्दा थापा मगरले जम्मा ४५ मत पाए । भने सचिव (समावेशी) पदमा महम्मद जालिम निर्विरोध चयन भए ।
निक्कै प्रतिस्पर्धा देखिएको कोषाध्यक्ष पदमा मनिष अन्जानले ७४ मत प्राप्त गर्दै ९ मतान्तरसहितको जित निकाल्दा प्रतिद्वन्दी निशा बजगाईंले ६५ मत प्राप्त गरिन । सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भोला प्रणव सुवेदीले ४२ मत ल्याए ।
यस्तै सुशील नेपाल, सोजना विक लोहार, नविन चापागाईं, युवर्ण पौडेल, दीपराज क्षेत्री, दिनेश थापा, सालिकराम न्यौपाने र रतन बहादुर चन्द केन्द्रिय सदस्य पदमा निर्विरोध चयन भए । निर्वाचित कार्यसमितिले अब ३ वर्ष केन्द्रमा रहेर चलचित्र पत्रकारहरुको हकहितमा काम गर्नेछ ।


