मलाई यस ‘मितज्यु’ मा हेरिरहेको पात्र भन्दा फरक पाउनु हुनेछ : दयाहाङ



जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यु’ प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो फिल्म देखिन्छ। किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस फिल्मका निर्माता जनक घर्ती मगर,निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए। उनीहरुले यस फिल्मका लागि कलाकारमा दयाहाङ राईलाई छनोट गर्ने निधोमा थिए। नभन्दै उनीहरुले नाटकमा अभिनय गरिरहेका र फिल्ममा पनि उतिकै व्यस्त रहेका दयाहाङलाई सुनाए। उनले यो कथा मन पर्यो। तर समयमा यो फिल्मको काम गर्न पाएनन्। अझ भनौँ यो फिल्मको कथामा उनीहरुबीच सहकार्य गर्ने मौका जुरेन। यसबीचमा ‘घरज्वाई’निर्माण गरे। यो फिल्मको दुईवर्षपछिमा पुन ८ वर्षअघिको कथा ‘मितज्यु’को स्क्रिप्ट खोलियो। यस फिल्ममा दयाहाङ राईले समय पनि दिए। अन्तत यस फिल्ममा सौगात मल्ल,टेरिया फौजा मगर,शिशिर वाङ्देलको टिम जुट्यो। यस फिल्मका अधिकांश गीतले चर्चाको शिखर चुमिरहेको छ। फिल्मका कलाकार तथा निर्माण पक्ष प्रमोसनमा हिडिरहेका छन्। पछिल्लो समय यस फिल्ममा समावेश गीत ‘गैराघरे साइँली’ले निकै चर्चा कमाई रहेको छ। यसैबीचमा दुई अभिनेतामध्ये एक दयाहाङ राईसँग गरिएको छोटो कुराकानी :

तपाईको बिचारमा यो फिल्म ‘मितज्यू’ कस्तो कथा हो?

सरसर्ती हेर्दा यो सम्बन्धको कथा हो। विशेषगरी पारिवारिक सम्बन्ध, मित्रता र व्यवसायिकताको कथा। एउटा गाउँदेखि शहरसम्म गाडीको रुट छ, जहाँ तीन जना चालकहरूले सेवा दिइरहेका छन्। म, सौगात मल्ल र शिशिर वाङ्देल दाइका पात्र छन्। मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ। गाडी चलाउने पेशामा दौडधुप र पारिवारिक जिम्मेवारीबीच उसले के सोचिरहेको छ भन्ने वरिपरि कथा घुम्छ।

यस फिल्मका पोस्टर र टिजर रिलिज भइसकेको छ,टिजर र ट्रेलरले कति कुरा खुलाउँछन?

टिजर वा ट्रेलरमा सबै कुरा देखिँदैन। कति भन्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यो फिल्ममा हरेक पात्रको आफ्नै कथा छ, जुन दर्शकले पूरा फिल्म हेरेपछि मात्रै राम्रोसँग बुझ्न सक्नुहुन्छ।

यस फिल्ममा दर्शकले उहीँ दयाहाङ राई देख्छन् कि फरक रूप?

मेरो अभिनय शैली नै पात्रको मनोविज्ञानसँग खेल्ने हो। बाहिरी हाउभाउभन्दा पनि पात्रको भित्री भावनासँग नजिक हुन रुचाउँछु। ‘मितज्यू’मा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ। तर मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ। अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई कनेक्ट गर्न सक्नुहुन्छ। यो गहिरो पात्र हो, र यस्तो पात्र पाउनु आफैंमा विशेष कुरा हो।

सौगात मल्ल सँगको केमिस्ट्री कस्तो छ? प्रतिस्पर्धा बढी कि सहकार्य?

हाम्रो उद्देश्य नै फरक–फरक छ। अघिल्ला फिल्महरू जस्तै लुट वा कबड्डी मा जस्तो सम्बन्ध यहाँ छैन। ‘मितज्यू’मा हामी किन दौडिरहेका छौँ भन्ने कुरा फरक छ। दर्शकलाई सुरुमा एउटा शंका लाग्न सक्छ, तर वास्तविक कुरा बुझ्न पूरा फिल्म हेर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्