हिजोसम्म रोल नं १ बामे सर्दैथियो आजबाट हिँड्न सुरु गर्यो – निर्माता विनोद पौडेल



चलचित्र ‘रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ । काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ ।

काठमाडौं उपत्यकामा आज ‘रोल नं १’ले पाएका शोमा ८० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको छ । केही शो भने हाउसफूल भएका छन् । काठमाडौंबाहिर ४५ प्रतिशतभन्दा माथि अकुपेन्सी देखिएको छ ।

दोस्रो हप्ताको सुरुबाट ‘रोल नं १’ हेर्ने दर्शकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो । आज साँझका अधिकांश शोमा दिउँसै उच्च बुकिङ भइसकेको छ ।

“हिजोसम्म बामे सरेको हाम्रो सिनेमा रोल नं १ आजबाट हिँड्न सुरु गर्यो,” निर्माता विनोद पौडेलले फेसबुकमा लेखेका छन् । उनले भनेजस्तै आजका धेरै शो हाउसफूल भएका छन् ।

चलचित्रले राम्रो वर्ड अफ माउथ पाएको छ । सिनेमा हेर्ने दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नै पर्ने चलचित्र भनेर तारिफ गरेपछि त्यसको सकारात्मक प्रभाव देखिन थालेको निर्माण टिमको विश्लेषण छ ।

बालमनोविज्ञानको कथा उठान गर्दै यो चलचित्रले विद्यमान शैक्षिक मूल्यांकन विधिमाथि प्रश्न उठाएको छ । यही विषयलाई नै दर्शकले रुचाएर तारिफ गरिरहेका छन् ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन रहेको छ ।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।

शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्