दर्शकले रुचाए ‘गौँथली’, शो बढाउँदै हल



प्रदर्शनअघि नै राम्रो हाइप बनाएको चलचित्र ‘गौँथली’ अपेक्षित रुपमा चलिरहेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको छ ।

पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार देखिएको छ । शनिबार यो चलचित्रका धेरै शोमा उच्च अकुपेन्सी देखिएको छ । शुक्रबार नै शनिबारका धेरै शोमा उच्च अकुपेन्सी देखिएपछि हलहरूले पनि शो थपेका छन् ।

शुक्रबारको तुलनामा शनिबार यो चलचित्रले धेरै शो पाएको छ । शुक्रबारको अकुपेन्सी र शनिबारको अग्रिम बुकिङ देखेर हलहरूले शो थपेका हुन् ।

हलका दर्शकको संख्या उच्च भएपछि कलाकार अरुण क्षेत्री, सिम्रन खड्कालगायतका कलाकार दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन् । दर्शकले गाउँका कथा जस्ताको तस्तै सिनेमामा हेर्न पाएको भन्दै निर्देशक तथा कलाकारहरूलाई धन्यवाद दिएका छन् ।

“जति पनि दर्शकलाई हामीले भेट्यौँ, चलचित्र राम्रो भन्नु भएको छ, हेर्नुपर्ने मौलिक सिनेमा भन्नु भएको छ,” निर्देशक कपिल रिजालले भने, “यो प्रतिक्रिया र उत्साहले थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ ।”

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्