मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को
फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य पाँच कलाकारलाई महाभारतका पाण्डवको चरित्रमा प्रस्तुत गरिएको छ।

पोस्टरमा हरिवंश आचार्यलाई युधिष्ठिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवको भूमिकामा देखाइएको छ। घोडाले तानेको आकर्षक बग्गीमा पाँचै कलाकारलाई राखिएको पोस्टरले उनीहरूको चरित्र र लुक्स सार्वजनिक गरेको हो।
वसन्त निरौलाको निर्देशनमा तयार भइरहेको चलचित्रले महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक सुशील पौडेलले बताएका छन्। चलचित्रलाई ‘सोसल ड्रामा’का रूपमा प्रस्तुत गरिएको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायत कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। यसको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार गरिँदैछ। कार्तिक २० गते अर्थात् नोभेम्बर ६देखि प्रदर्शनमा आउने ‘पाँच पाण्डव’लाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।



