रंग खबर, काठमाण्डौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘धुन’ बाट निर्देशनमा डेब्यु गरेका युवा निर्देशक कृष्ण पौडेललाई अर्को फिल्म निर्देशनको अवसर मिलेको छ । पहिलो कामको नतिजा नहेरिकन उनलाई दोश्रो प्रोजेक्टको अवसर मिलेको हो ।

रंग पत्रकार रघुनाथ सापकोटा तथा अर्का एक एनआरएनको लगानी रहेको फिल्म ‘सत्या’ निर्देशनको जिम्मेवारी पौडेललाई प्राप्त भएको हो । ‘लेडिज एक्सन’ रहने यो फिल्मको आईतवार राजधानीको एक स्टुडियोबाट सांगितिक कार्य शुभारम्भ गरिएको छ ।
अभिनेता जीवन लुईंटेल र बर्षा शिवाकोटीको अभिनय रहने करिब फाईनल भएपनि अमेरिकामा रहेका कारण जीवनसँग लिखित सम्झौता हुन बाँकी रहेको निर्माण युनिटले जनाएको छ । म्युजिकल सुभ साईत कार्यक्रममा निर्देशक ऋषी लामिछानेले नरिवल फोरेका थिए । आधा दर्जनजति चलचित्रमा सहायक निर्देशन गरेका पौडेलले ऋषीलाई गुरु मान्दै आएका छन् ।
थुप्रै फिल्ममा सहायक निर्देशन गरेका तथा दर्जनबढी म्युजिक भिडियोको निर्देशन गरेका पौडेलले नयाँ प्रोजेक्टको घोषणा गर्दै भने, ‘ पहिलो फिल्म रिलिज अगाबै पनि मेरो आजसम्मको काम हेरेर नै निर्माताहरुले पत्याउनु भएको हो, आजसम्मको अनुभवलाई प्रयोग गरेर राम्रो चलचित्र दर्शकलाई पस्किन कुनै कसुर बाँकी राख्ने छैन् ।’ फिल्म नारी प्रधान बन्ने उनले बताए ।
त्यस्तै सञ्चारकर्ममा लागिरहेका सापकोटाले ठुलोपर्दाको फिल्म निर्माणमा पहिलोपटक हात हालेका हुन् । यो फिल्म ‘तारा सितारा प्रोडक्शन’ तथा ‘सेलिब्रेटी नेपाल प्रोडक्शन’को ज्वाईन भेन्चरमा निर्माण हुनेछ । फिल्मको छायाँकन नयाँ बर्षको सुभारम्भसँगै हुने बताईएको छ । कृष्ण आचार्यको कथा रहने यो फिल्ममा संगीत विकास चौधरीको रहने छ भने गीतमा स्वर राजेशपायल राईले स्वर दिनेछन् ।
४० लाख बजेट भनिएको ‘सत्या’मा काठमाडौं तथा पोखराका मनोरम दृश्यहरु समावेश हुनेछन् । यो फिल्ममा समावेश हुने ‘मन पर्यो मलाई’ बोलको गीतको सोमबार गायक राजेशपायलले रेकर्ड गर्नेछन् । आईतबार नै गीत रेकर्ड गर्ने भनिएपनि गायक उपत्यका बाहिर रहेकोले यो काम सोमबारलाई सरेको छ ।


