रंगखबर, काठमाडौँ: निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ।
सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ। फिल्ममा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।
प्रस्तुतकर्ता विराज बिष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप अन्तिम भएको हो। उनले भने, “हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौं। अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ। हाम्रो टोली मजबुत बनेको छ।”
‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।
‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।



