‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्तसँगै फ्लोरमा



रंगखबर, काठमाडौँ: चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेव्यु निर्देशकिय फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन् ।

गतवर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगोनि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनले निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे)ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । उक्त सिनेमा बक्सअफिसमा हिट भएपछि उनी आफै निर्देशनमा अग्रसर भएका हुन् ।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन् । अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने फिल्मको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए । यो फिल्मबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दैछन् । एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको कलाकार उप्रेती बताउँछन् ।

फिल्ममा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको फिल्म काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ४५ दिनको रखिएको छ । फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मलाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने फिल्मको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ । फिल्मको शुभमुहूर्तमा समेत बालेन पत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना समेत दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्