रंगखबर, काठमाडौँ: नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो । सोहि कारण फिल्म सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ ।
रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो सिनेमाबाट उनी फिल्म निर्माणमा डेब्यु गर्न लागेका हुन् । २०६२-६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् ।
‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता फिल्म निर्देशन गरेका मुस्कान ढकाल फिल्मका निर्देशक हुन् । नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका छन् ।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो । फिल्मको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ । साउन १६ गते आज शुक्रवार निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो । अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ ।
प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, ‘नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका फिल्म बढी रुचाउँछन् । त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार फिल्मको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं ।’
निर्देशक मुस्कान ढकालका अनुसार हाल फिल्मको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ । फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन् ।



