रंगखबर, काठमाडौँ: ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई नै केन्द्रमा राखिएको छ ।
फिल्मको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ । सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ ।
एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा फिल्म निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो फिल्म हो । यसअघि उनी सहायक भूमिकामा सिमित थिए ।
फिल्मले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने फिल्मको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि फिल्म निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।



