‘राम नाम सत्य’लाई लिएर उत्साहित दिव्या रायमाझी



चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ चर्चामा छ । यो फिल्म चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली फिल्म अब पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित फिल्मले सोलो रिलिजको अवसर पाएको हो । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । यस्तै, फिल्मको टिजरले पनि दर्शकको साथ पाइरहेको छ ।
यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ ।
यसैबिच, नायिका दिव्या रायमाझीले फिल्म ‘राम नाम सत्य’लाई लिएर आफ्नो उत्साह व्यक्त गरेकी छिन् । दिव्या भन्छिन्–‘म फिल्मलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’
फिल्ममा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्–‘फिल्ममा एक्सन भरपुर छ । तर, यो एक्सन फिल्म मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ ।’
दिव्याले फिल्म गज्जब बनेको बताउँदै भनिन्–‘मैले मेरो फिल्म भनेर भनेको होइन । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले यो फिल्म हेरेर भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।’
यो फिल्ममा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् ।
माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्