रेखा थापाको लगानीमा नाटक ‘सेतो धरती’



कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक सेतो धरती यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक सेतो धरती मा आधारित यस नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालले पहिलो पटक रंगमञ्चमा डेब्यु गर्दै गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो।

अहिले भने नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएसँगै दर्शकहरूको चासो अझ बढेको छ। आज कान्तिपुर फिल्म एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ। सुन्दर धितालले यसअघि रेखा थापाकै डेब्यु नाटक मीरा निर्देशन गरेका थिए भने रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन्।

हाल धमाधम रिहर्सल भइरहेको नाटक सेतो धरती मा बेनिशा हमाल लगायत फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरू एकैपटक मञ्चमा देखिँदै छन्। नेपाल साहित्य जगतको लोकप्रिय तथा सर्वाधिक बिक्री भएको उपन्यास भएकाले पनि सेतो धरती लाई नेपाली रंगमञ्चका दर्शक र साहित्य क्षेत्रले अपेक्षाका साथ हेरेका छन्।

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास मीरा मा रेखा थापा तथा पारिजातको उपन्यास शिरीषको फूल मा जीवन लुइँटेललाई रंगमञ्चमा ल्याएर नाटक निर्माण गरिसकेको छ। अहिले बेनिशा हमालको रंगमञ्च आगमनलाई पनि विशेष चासोका साथ हेरिएको छ।

कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।

नाटक सेतो धरती यही चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ। बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे तथा शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे पनि विशेष शो रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्