कुमार गजुरेलको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा सारथीको शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।
वैशाख ९ गते बुधबारबाट सिनेमाको गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा सारथीको छायांकन गरिने निर्देशक गजुरेलले बताए । यो सिनेमाबाट बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । करिब तीन दशक लामो नेपाली सिनेमामा खर्चिएको सम्पादनको अनुभव सहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माता थापा बताउँछन् ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको सिनेमाबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ । जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ । अभिनेत्री सिंह सिनेमाको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् । उत्तम भने वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिने तयारीमा छन् ।
यो सिनेमाको शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए । अतिथिका रूपमा नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्तयाल पनि सहभागीता रह्यो ।
सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । सौर्यल थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।


