चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकले रुचाएका छन् । युट्युबमा अपलोड गरेलगत्तैबाट चर्चामा रहेको गीत यतिबेला सामाजिक सञ्जालमा रुचाइएको छ ।
टिकटक तथा फेसबुक रिल्समा यो गीत धेरैले सेयर गरिरहेका छन् । ‘म्याग्दी रुमाले’मा ठूलो संख्यामा टिकटक बनिरहेका छन् । चार दिन अगाडि रिलिज भएको गीत विस्तारै दर्शकमाझ फैलिनेक्रममा रहेको निर्माणपक्षले जनाएको छ ।
युट्युबमा गीत हेर्ने दर्शकले गीतको तारिफ गरिरहेका छन् । रोमान्टिक र डान्सिङ नम्बरमा रहेको गीतलाई स्वतस्फूर्त रूपमा दर्शकले तारिफ गरिरहेका छन् ।
युट्युमा गीत हेरेर समीर सुनार लेख्छन्, “मलाई गीत साह्रै मनपरो । शब्द, स्वर र लय दामी छ ।” उनले प्रशान्त सिवाकोटी र शान्ती श्री परियारको गायनको तारिफ गर्दै सिनेमा ‘रोल नं १’लाई सफलताको शुभकामना भनेका छन् ।
युवायुवतीबीच हुने आकर्षण, प्रेम र जीवनसँगै जिउन गर्ने आग्रह र त्यसको प्रतिक्रियाको सेरोफेरोमा रहेर तयार गरिएको गीत जति सुन्दर छ त्यति नै नाच्न मिल्ने पनि छ, त्यसैले दर्शकले गीतको तारिफ गरिररहेका छन् । गीतले पुराना दिनहरू सम्झाएको भन्दै दर्शकले नोस्टाल्जिक भएको प्रतिक्रिया दिइरहेका छन् ।
पछिल्लो समय लोकलयलाई पक्रिएर तयार पारिएका गीत दर्शकमाझ लोकप्रिय छन् । ‘म्याग्दी रुमाले’ पनि लोकलयलाई समातेर कम्पोज गरिएको र गण्डकी प्रदेशको सेरोफेरोको शब्द र भाषाको लवजले गीतलाई थप सुन्दर बनाएको छ, गीतको यो पक्षलाई पनि दर्शकले तारिफ गरिरहेका छन् ।
पवर्त, वाग्लुङलगायतका दर्शकले हाम्रो क्षेत्रको गीत तथा हाम्रो एरियामा चलचित्र ‘रोल नं १’ सिनेमा खिचिएको छ भनेर चलचित्रलाई सफलताको शुभकामना दिइरहेका छन् ।
‘म्याग्दी रुमाले’मा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ ।
प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सहयोग गरेका छन् ।
गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ । युवकले सँगै जीवन विताउन गर्ने प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रह समावेश गीतको यही पक्षलाई दर्शकले मन पराइरहेका छन् ।
भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय छ । विशेषगरी विनोदको नृत्य र अभिनयको तारिफ पनि दर्शकले गरिरहेका छन् ।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । यो चलचित्रका कलाकार अहिले सिनेमाको प्रचारका क्रममा मोफसल यात्रामा छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।



