नेपाली फिल्म लालीबजार गत वैशाख २५ देखि प्रदर्शनरत छ । केन्द्रीय चलचित्र जाँच समितिमार्फत ‘युनिभर्सल’ प्रमाणपत्र पाएको उक्त फिल्मलाई घरेलु बजारमा २ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । बादी समुदायकै अभियन्ताले हेरेर तारिफ गरिरहेको उक्त फिल्मलाई आमा र छोरीको कथामा तयार गरिएको छ । शासककाे शोषणलाई प्रथा मानिरहेको एउटा समुदायले शिक्षाकाे ज्योती पाएसँगै आफ्नो अस्तित्वका लागि गर्ने सङ्घर्षको कथालाई कथानक बनाएर देखाइएको भन्दै बादी समुदायले नै तारिफ गरेका छन् । यद्यपि, फिल्मले दर्शककाे साथसँगै कानूनी सास्ती समेत भोगिरहेको छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत र उच्च अदालत पाटनमा रिट परेको छ । एउटै समयमा पेशी हुँदै गर्दा फिल्मका निर्माणसँग जोडिएका सदस्यहरू एकै समयमा बाँडिएर अदालतको सुनुवाइमा सहभागी भइरहेका छन् । आज पनि फिल्मका सदस्यहरू उच्च अदालत र पाटन अदालतमा पुग्न बाध्य भएका छन् । फिल्मलाई रुचाउने दर्शककाे चाँप बढ्दै गर्दा हल भिजिट गर्नु पर्ने समयमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता प्रदीप भट्टराई लगायत अदालत धाउनु परेको छ । सरकारको नियामक संस्था केन्द्रीय चलचित्र जाँच समितिले पास गरेको फिल्मले बारम्बार अदालतमा आफूलाई प्रमाणित गर्नुपरेको छ ।




