सिनेमाको प्रमुख आकर्षणका रूपमा करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको छ । लामो समयपछि पुनः एकसाथ पर्दामा देखिएका यी दुई कलाकारको कमब्याकलाई सिनेमा क्षेत्र तथा दर्शकहरूले विशेष चासोका साथ हेरिरहेको दाबी निर्माण टिमको छ ।
सामाजिक कथावस्तुमा आधारित सिनेमाले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ । सिनेमाका निर्देशक कुमार गजुरेलका अनुसार सिनेमाले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ ।
सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्य रहेको सिनेमाका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता अनि अमीर केसी लाइन प्रोड्युसर हुन् । यो सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन् ।




