‘छक्का पन्जा ३’को अग्रिम बुकिङ खुल्यो, रिलिज अगावै रेकर्ड



रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’को लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ्ग खुला गरिएको छ । घटस्थापनाको अवसर पारि बुधबारै रिलिज हुन् लागेको फिल्म देशभर सोलो छ ।

मल्टीप्लेक्समा हलिउडको ‘क्रेजी रिच एसियन’ मंगलबारै रिलिज हुँदैछ । ‘छक्का पन्जा ३’ सोलो रिलिज भएका कारण मल्टीप्लेक्समा अत्याधिक शोज पाएको छ । देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्स सिनेमाजले आफ्ना ८ ओटा स्टेसनमा ५५ शोज दिएको छ । यो शोज वर्षको सर्वाधिक हो ।

५० भन्दा माथि शोज विशेष गरि बलिउडका तीन खानका फिल्मलाई दिने गरिन्छ । नेपाली फिल्मको हकमा, भने यो सफलता दीपा-दीपक क्याम्पका फिल्मले मात्र पाउँदै आएका छन् ।

त्यस्तै राजधानीको एफक्युबले ११, सिडिसीले १०, क्युजले ११, बिएसआरले १२ र बिग मुभिजले १० शोज दिएका छन् । अग्रिम बुकिङमा मात्र ‘छक्का पन्जा ३’ले देशभरबाट १ सय ९ शोज पाएको छ । यसलाई उत्साहपूर्ण मान्न सकिन्छ ।

मल्टीप्लेक्सको शोज संख्या र बुकिङलाई हेर्दा ‘छक्का पन्जा ३’ले ब्लकबस्टर ओपनिङ गर्ने अनुमान गरिएको छ । सम्भवत: यो वर्ष सुस्ताएको फिल्मी बजारलाई ‘छक्का पन्जा ३’ले चलायमान बनाउने छ ।

दीपाश्री निरौला निर्देशित तेस्रो सृंखलामा दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्