गैर आवासिय नेपालीहरुलाई नेपाली सरह मान्यता दिनुपर्छ :  रेखा थापा



भनिन्छ, अभिनय समाजको ऐना हो । अभिनयका माध्यमबाट देश परिवर्तन हुनसक्छ । नेपालमा यसकै एक ज्वलन्त उदाहरणका रुपमा लिने गरिन्छ नायिका रेखा थापालाई । विगत १४ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा आफ्नो सशक्त अभिनयका कारण एकछत्र राज गर्न सफल रेखाले आफ्ना फिल्महरुमा नारी आवाज बोक्ने गर्छिन् । उनका पछिल्ला फिल्महरु प्राय नारी प्रधान नै छन् । उनको सशक्त भुमिकालाई देखेर यँहा ‘रेखा थापा’ जस्तै बन्छु भन्ने अठोट बोक्नेहरु पनि कम छैनन् । यो रेखाले अभिनयका माध्यमबाट गरेको परिवर्तन हो । यत्तिमात्र नभएर रेखाले अभिनय संगसंगै समाजसेवालाई पनि अघि बढाइरहेकी छिन् । आफ्नै नाममा ‘रेखा थापा फाउन्डेशन’ नामक संस्था स्थापना गरेर उनी सामाजिक काममा लागिरहेकी छिन् । नेपालको लोपन्मुख जातिको रुपमा चिनिएको फिरन्ते जीवन व्यथित गर्ने राउटे जातिको विकासका लागी उनले योगदान पुर्याइरहेकी छिन् जुन हामी सबैलाई सर्वविधितै छ । यिनै रेखासंग रंगखबरका लागी अनिल यादवले सामाजिक, राजनितिक लगायतका समसमायिक विषयवस्तुमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश  :–

तपाईका फिल्महरु प्राय नारी प्रधान हुन्छन्, किन ?

हाम्रो नेपाली समाजमा अझै पनि नारीहरुलाई कमजोर रुपमा लिइन्छ । नारीहरुले केही गर्न सक्दैनन् भन्ने बुझाई अझै पनि हटेको छैन् । हो म नारी प्रधान फिल्महरु यही बुझाईलाई निर्मुल पार्नका लागी बनाउँछु । म नारी प्रधान फिल्महरुमा यिनै नेपाली महिलाहरुका लागी अभिनय गर्छु जो अझै पनि हिंसामा छन् । मेरा फिल्महरुमा नारी संवेदना, नारी अवाज हुन्छन् । नारीलाई सशक्त भुमिकामा देखाइएको हुन्छ ताकी अब हाम्रो देशका नारीहरु सशक्त बन्न सकुन्, हिंसालाई प्रतिकार गर्न सकुन् । र अर्को कुरा यस वर्षको दशैमा रिलिज भएको मेरो फिल्म ‘हिम्मतवाली’ ले त अपाङ्गता असक्षमता होइन भन्ने एउटा सन्देश नै बोकेको थियो । अपाङहरुले केही गर्न सक्दैनन् भन्ने मान्यतामाथि गतिलो झापड हान्न सफल भयो मेरो फिल्म । दुवै हात गुमाएको सुदशर्न गौतमलाई हिरो बनाएर मैले फिल्म बनाए जसले एउटा इतिहास नै रचेको थियो । त्यसैले मलाई विश्वास छ, यस्ता सन्देशमुलक र नारी प्रधान फिल्महरुले एकैपटक देश परिवर्तन गर्न नसकेपनि विस्तारै मानिसको सोचमा परिवर्तन गर्नेछ । सोच परिवर्तन भएपछि अवश्य देशपनि परिवर्तन हुनेछ ।

rekha thapa pic

गएको संविधानसभाको चुनावमा भोटर लिष्टमा नाम नभएकै कारण अन्तिम समयमा पर्सा क्षेत्र नम्बर १ बाट तपाईले उम्मेद्वारी दिन सक्नुभएन् । त्यसपछि तपाईको राजनितीमा आउने चर्चा सेलाएको देखिन्छ । राजनितीमा नआउने हो र ?
हो, मेरो सानो कमजोरीले गर्दा मैले त्यतीबेला उम्मेद्वारी दिन सकेको थिइन । तर यसको कारण यो होइन कि अब म राजनितीमै आउँदिन् । अबको केही वर्षभित्रै म राजनिती र समाजसेवाका माध्यमबाट देशको सेवा गर्न चाहन्छु । देशमा उदाहरणीय काम गर्न चाहन्छु ।

नेपाली जनताहरु राजनितीबाट विरक्तिएको अवस्था छ, नेताहरुले गाली मात्र खाइरहेका छन् । यस्तो अवस्थामा तपाई चाँही राजनितिमा किन आउन चाहनुहुन्छ ?
तपाई विश्वको उदाहरण हेर्नुस् । पहिला व्यक्ति कुनै पनि एउटा व्यवसायमा सफल बनेपछि मात्र राजनितिमा प्रवेश गर्ने गर्छन् । तर हाम्रो नेपालमा यस्तो छैन् । भोका नाङ्गाहरु सबै नेता भएका छन् । हिजो सडकमा भएका मानिसहरु आज रातारात राजनितीमा आएका छन् । त्यसैले नेपालको राजनितिमा स्थिरता आउन सकेको छैन् । तर यो विस्तारै सुधार हुने विश्वास राँखौ ।

भनेपछि व्यवसायिक रुपमा सफल भएका कारण तपाई राजनितीमा आउन खोजेको हो ?
हो, त्यो पनि एउटा कारण हो । अभिनय मेरो पेशा हो र धर्म पनि । मैले झण्डै १४ वर्षको अभिनय यात्रापछि अब राजनितिमा प्रवेश गर्नुपर्छ भन्ने चाहना बोकेको हो ।

तपाई राजनितीमा आएपछि कस्ता मुद्धालाई उठाउनुहुन्छ ?
नेपालको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार हो । भ्रष्टाचारका कारण नेपाल दुर्गन्धित बनेको छ । यही भ्रष्टाचारका कुरालाई बुलन्द रुपमा उठाएर नेपाललाई भ्रष्टाचारमुक्त बनाउने प्रयास मबाट सधै हुनेछ । महिलाका मुद्धाहरुलाई पनि शसक्त ढंगले उठाउने छु । यस्तै मुद्धाहरुलाई उठाएर भविष्यमा एउटा सफल नेता बन्ने मेरो चाहना छ । मलाई आत्मविश्वास छ, जसरी मेरो अभिनयलाई दर्शकले रुचाएका छन् त्यसरी नै मेरो कामलाई दर्शकले रुचाउनेछन् ।

नेपाली फिल्म क्षेत्रको विकास किन हुन नसकेको हो । झण्डै संगसंगै शुरु भएको बलिउड फिल्म उद्योग विश्वव्यापी भइसकेको छ, नेपाल किन पछाडी भएको जस्तो लाग्छ ?
हो, एकदम सहि कुरा गर्नुभयो । तपाई बलिउड र पन्जाबी फिल्मको इतिहास हेर्नुहोस्, त्यँहा ६० देखि ७० प्रतिशत लगानी गैर आवासिय भारतीय (एनआरआई) को छ । त्यँहा फिल्ममा लगानी गर्ने एनआरआईहरुलाई ‘ट्याक्स फ्रि’ गरिएको छ । दोहोरो नागरिकता (ड्वेल सिटिजनशीप) को व्यवस्था गरिएको छ । त्यही भएर त्यँहाको फिल्मको मार्केट अमेरिका, युके, युरोप, क्यानेडा लगायत विश्वभर छरिएको छ । त्यँहाको फिल्म एकैदिन विश्वभर रिलिज हुन थालेको छ । तर यँहा नेपालमा त्यस्तो छैन् । त्यसैले म सबैभन्दा पहिला गैर आवासिय नेपाली (एनआरएन) हरुलाई नेपाल सरकारले नेपाली सरह मान्यता दिनुपर्छ भन्छु । एनआरएनहरुलाई दोहोरो  नागरिकताको व्यवस्था गरी सहज रुपमा नेपाली फिल्ममा लगानी गर्ने वातावरण मिलाउनुपर्छ ।

तपाईको मतलव एनआरएनहरुलाई नेपाली सरह मान्यता दिँदा नेपाली फिल्म पनि बलिउड जस्तै विश्वव्यापी हुनसक्छ ?
हो अवश्य हुन्छ । हामीले आफुलाई कमजोर ठान्न हुँदैन् । आज नेपालीहरु विश्वभर छरिएका छन् । उनीहरु त्यँहा सम्पन्न तरिकाले बसिसकेका छन् । सम्पन्न अवस्थामा छन् । त्यँहाको मुलुक हाक्ने अवस्थामा पुगिसकेका छन् । त्यसैले यदि साच्चै नेपाली फिल्म क्षेत्रलाई विकास गर्ने हो र अन्तराष्ट्रिय रुपमा प्रवद्धन गराउने हो भने एनआरएनहरुलाई नेपालमा नेपाली सरह बस्ने वातावरण मिलाउनुपर्छ । उनीहरुलाई लगानी गर्ने वातावरण बनाउँनुपर्छ । उचित सुविधा प्रदान गर्नुपर्छ । फिल्ममा लगानी गर्नलाई ट्याक्स फ्रि गरिनुपर्छ । फन्डिङको व्यवस्था गरिनुपर्छ । अनी त्यसपछि हेर्दै जानुस्, नेपाली फिल्मको बजार पनि विश्वव्यापी हुनेछ । विश्वभर छरिएका नेपालीहरु माझ एनआरएनकै माध्यमबाट नेपाली फिल्म हेराउन सकिनेछ । त्यसपछि न नेपाली फिल्म पछाडी हुनेछ, न यसका निर्माता ।

Rekha Thapa foundation

अन्त्यमा तपाई केही भन्न चाहनुहुन्छ की ?
धेरै महत्वपुर्ण कुराहरु गर्ने अवसर मिल्यो त्यसको लागी रंगखबरलाई धन्यवाद । संगसंगै म यही पौष २५ देखि प्रदशर्नमा आउन लागेको मेरो फिल्म ‘तथास्तु’ हेरिदिन सम्पुर्ण नेपाली दर्शकलाई म आग्रह गर्छु । किनभने यो फिल्म एउटा बलात्कृत नारी कसरी आफ्नो न्यायका लागी लड्छे र बदला लिन्छे भन्ने विषयवस्तुमा केन्द्रित छ । विश्वास गर्नुस, यो फिल्म सम्पुर्ण नेपालीले हेनैपर्ने विषयवस्तु माथि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्