‘झुम्की’ मा दुई नायिकालाई थारु युवतीको भूमिका निर्वाह गर्न चुनौती !



रंग खबर, काठमाण्डौं । यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ गरी दुई नेपाली फिल्म निर्माण गरेका अपील बिष्टले ‘झुम्की’ निर्देशन गर्ने भएका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरी फिल्मको विषयमा औपचारिक जानकारी गराइएको हो ।

Jhumki

बिजय बिराज बिष्टको लगानी रहने यस फिल्ममा सन् २०११ की मिस नेपाल मलिना जोशी शिर्ष भूमिकामा प्रस्तुत हुनेछन् । वि.स २०४६ र ६० सालको परिवेशको प्रेमलाई मुख्य विषयवस्तु बनाएको फिल्म ‘झुम्की’ मा नायिकाद्धय मलिना जोशी र निश्मा गुरुङ थारु युवतीको भूमिकामा प्रस्तुत हुनेछन् । निर्माण हुँदै निर्देशनमा हात बढाएका अपिल बिष्टलाई दुई नायिकालाई थारु युवतीको भूमिकामा प्रस्तुत गर्नु नै पहिलो चुनौती रहेको बिष्टका गुरु निर्देशक मनोज पण्डितले औल्याए । निर्देशक पण्डितले भने, ‘मलिना र निश्मा कुनै पनि कोणबाट थारु युवती जस्तो देखिदैनन् । यी दुई नायिकालाई थारु युवतीमा उतार्नु नै निर्देशक बिष्टको मुख्य चुनौती हो जस्तो मलाई लाग्छ ।’

यता ‘ऋतु’ नायिका जोशीले पनि थारु युवतीको लवज देखि पहिरनसम्म आफ्नो लागि चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘मेरो लागि यो चुनौतीपूर्ण भूमिका हो । सक्दो मिहनेत गर्छु ।’ त्यस्तै ‘कवड्डी’ नायिका गुरुङले पनि आफ्नो लागि थारु युवतीको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । फिल्म आफैं बोल्ने भएकाले ‘झुम्की’ बारे थप नबोल्ने निर्देशक बिष्टले भने बताए ।

शिर्ष भूमिकामा प्रस्तुत हुने मलिनासँगै ‘झुम्की’ मा मनोज आरसी, निश्मा गुरुङ र दयाहाङ राईको मुख्य भूमिका रहनेछन् । यी कलाकारसँगै फिल्म ‘झुम्की’ मा प्रमोद अग्रहरी, भोलाराज सापकोटा, बिजय बराल, बसन्त भट्ट, लुनिभा तुलाधर, बाल्मिकी पोखरेल, आकाश बुढाथोकी, प्रेम वर्षा, उज्जवल शर्मा भण्डारी, कमल प्यासी देवकोटा, अंकित खड्का र बिजेन कार्की आदीको अभिनय रहनेछ । रामबाबु गुरुङ्को कथा, पटकथा र संवाद रहेको फिल्म ‘झुम्की’ लाई शैलेन्द्र डि.कार्कीले खिच्नेछन् भने संगीत कालीप्रसाद बाँस्कोटाले दिएका छन् । फिल्ममा साम्तेन भुटियाको निर्माण परिकल्पना छ ।

सरिता केसीको कार्यकारी निर्माण रहेको फिल्म ‘झुम्की’ मा प्रदीप आचार्य र सुशिल अधिकारीको कार्यकारी निर्माण छ । यही साताबाट छायाँकन प्रारम्भ हुने फिल्म ‘झुम्की’ लाई आउँदो वर्ष प्रदर्शनको लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्