शुक्रवारे मैदानमा नेपाली, बलिउड र हलिउडका एक–एक फिल्म प्रदशर्नमा



रंग खबर, काठमाण्डौं, माघ ०९– यो शुक्रवार तीन फिल्म प्रदशर्नमा आएका छन् । नेपाली फिल्म ‘आगो २’, बलिउडको ‘बेबी’ र हलिउडको ‘द थ्योरी अफ एभ्रिथिङ’ प्रदशर्नमा आएका हुन् ।

three film

१४ वर्ष अघि रिलिज भएको सफल फिल्म ‘आगो’ को सिक्वेल हो ‘आगो–२’ । कुनै पनि अन्य नेपाली फिल्म आज रिलिज नभएपछि ‘आगो २’ ले एकल प्रदशर्नको मौका पाएको छ । यो फिल्म आजबाट देशभर सिंगल स्क्रिन हलहरु लागेको छ । मदन घिमिरे निर्देशित यो फिल्मलाई सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे, किसन सुनार र प्रिया रिजालको मुख्य अभिनय रहेको छ । राजनिती र समाजको समस्यालाई मुख्य विषयवस्तु बनाएको यो फिल्मलाई किसन थापा र किरन पोखरेलले निर्माण गरेका हुन् ।

यस्तै आजैबाट बलिउडका एक बहुप्रतिक्षित सिनेमा ‘बेबी’ पनि प्रदशर्नमा आएको छ । थ्रिलर र एक्सन जनरामा राखिएको यो फिल्ममा अक्षय कुमार, डेनी डेनजोङ्पा, अनुपम खेर, केके मेनन, तपसी पन्नु लगायतका कलाकारहरुको मुख्य अभिनय छ । भारतले खेपिरहेको आतंकवादको मुद्धालाई उठाएको यो फिल्मलाई चर्चित निर्देशक नीरज पाण्डेले निर्देशन गरेका हुन् । यो फिल्मको छायंकन नेपालमा समेत गरिएको छ । नेपाल बाहेक टर्की र मध्यपुर्वमा खिचिएको यो फिल्ममा अक्षयकुमार एक जासुसको भुमिकामा देखिएका छन् ।

त्यस्तै आजैबाट राजधानीको मल्टिप्लेक्स हलहरुमा हलिउडको प्रतिक्षित सिनेमा ‘द थ्योरी अफ एभ्रिथिङ’ प्रदशर्नमा आएको छ । यसपटकको अस्करमा सर्वोत्कृष्ट फिल्मको मनोनयनमा परेको यो फिल्ममा एड्डी रेडमेन, फेलिसिटी जोन्स र टम प्रायरको मुख्य अभिनय छ । फिल्मलाई जेम्स मार्सले निर्देशन गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्