केशव भट्टराईको लगानीमा निर्मल शर्माले ‘ब्रासलेट’ निर्देशन गर्ने



रंग खबर, काठमाण्डौं । रजतपटमा ‘ब्रासलेट’ नामक फिल्म निर्माण हुने भएको छ । निर्माता केशव भट्टराईको लगानीमा निर्मल शर्माले ‘ब्रासलेट’ लाई निर्देशन गर्नेछन् । निर्माता समेत रहेका निर्मल शर्माले यसअछि पहिलो पटक ‘चकलेट’ फिल्म निर्देशन गरेका थिए । पूजना स्त्रीको निर्माण रहेको ‘चकलेट’ को यतिबेला पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

nirmal-sharma-with-braslat-team

निर्माता केशव भट्टराई फिल्म ‘शो सिम्पल’ पछि ‘ब्रासलेट’ निर्माणमा जुटेका हुन् । आधा दर्जन बढी हिट फिल्म निर्माण गरेका भट्टराई निर्मित पछिल्लो फिल्मले भने लगानी उठाउन सकेन । स्व.शिव रेग्मी निर्देशित फिल्म ‘शो सिम्पल’ युवा दर्शक लक्षित फिल्म थियो । जसमा स्व.रेग्मीकी छोरी भावना रेग्मीको पनि अभिनय थियो । एक जमातलाई मात्रै लक्षित गर्दा फिल्मको व्यापार राम्रो हुन नसकेपछि निर्माता भट्टराईले ‘ब्रासलेट’ लाई नयाँ र पुरानो दुवै स्वादमा पस्कने बताएका छन् । उनले भनेका छन्, ‘नयाँ या पुरानो भन्दा पनि दर्शकलाई मन पर्ने स्वादको फिल्म बनाउँछु ।’

आउँदो फागुन महिनाबाट छायाँकन सुरु हुने फिल्म ‘ब्रासलेट’ को संगीत रेकर्डिङ सुरु भएको छ । दीपक शर्मा र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्म ‘ब्रास्लेट’ को बुधबार लोक गायक पशुपती शर्माले म्युजिसियन स्टुडियोमा आफ्नो स्वर रेकर्ड गराए । लोक दोहोरीका हिरो शर्माले कुनै पनि नेपाली फिल्ममा पहिलो पटक आफ्नो स्वर रेकर्ड गराएका हुन् । गायक शर्मासँगै ‘ब्रासलेट’ मा टिका पुनको पनि स्वर रहनेछ । ‘लोफर’ डेव्यु रजनी केसी अभिनय गर्ने पक्कापक्की भएको फिल्ममा जया ओझाको लेखन रहेको छ । बाँकी कलाकार छनोटको क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्