‘होस्टेल रिटर्न्स’ को ‘भ्यालेन्टाइन डे’ दर्शकसंग : हिरोले हिरोइनलाई गुलाब दिने



रंग खबर, काठमाण्डौं । ठुलो प्रचारबाजीमा उत्रिएको फिल्म ‘होस्टेल रिटर्न्स’ अहिले कलेज अभियान र देश दौडाहामा छ । आगामी वैशाख २५ देखि सार्वजनिक प्रदशर्नमा आउने सुनिल रावल निर्मित यो फिल्मले अब भ्यालेन्टाइन डे समेत दर्शकसंग मनाउने भएको छ ।

hostel returns 3

सिभिल इन्जीनियरिङ पढ्ने बिधार्थीको कथामा निर्मित यो फिल्मले आउँदो फागुन १ गते राजधानीस्थित चावहिलमा रहेको पशुपति कलेजमा ‘भ्यालेन्टाइन डे’ मनाउने भएको छ । हरेक वर्षको फेब्ररी १४ तारिखका दिन विश्वभर भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ । फेब्ररी १४ नेपालमा माघ २९ शनिवारका दिन पर्छ । शनिवार बिदाका दिन कलेज विदा हुने भएकाले आइतबार भएपनि फिल्म युनिटले विद्यार्थीमाझ भ्यालेन्टाइन मनाउने भएको निर्माता रावलले बताए । ‘हामी हाम्रो फिल्मको प्रोमो विद्यार्थीमाझ लाइभ मञ्चन गरेर मनोरंजन दिलाउने योजनामा छौँ’, उनले भने । ‘होस्टेल रिटर्न्स’ का मुख्य कलाकार सुशिल श्रेष्ठले उक्त अवसरमा नायिका शशी श्रेष्ठलाई रातो फूल दिएर अझ कार्यक्रमलाई रोमाञ्चक बनाउने योजना समेत रहेको बुझिएको छ ।

hostel returns 2

यसैगरी ‘होस्टेल रिटर्न्स’ को सहकार्यमा भ्योलेन्टाइन डे लाई नै लक्षित गरि बिटुएच इभेन्टले यही फागुन २ गते हेटौडा, ५ गते चितवनको नारायणी नदी किनार र ७ गते बुटवलमा ‘यात्रा २०१५’ नाम दिएर कन्सर्ट गर्ने भएको छ । चितवनको कार्यक्रममा द स्याडोज ब्याण्ड, लाउरे, रक एन रोल ब्यान्ड, रबिन तामाङको ब्यान्ड सहित विभिन्न कलाकारहरुसंग फिल्म युनिटले प्रस्तुती दिनेछन् ।

‘होस्टेल रिटर्न्स’ मा सुशिल र शशीसंगै नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्का लगायतको समेत मुख्य अभिनय छ । दुर्गिस फिल्म्सको ब्यानरमा निर्मित यो फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । यसलाई हरि हुमागाईले खिचेका हुन् ।

hostel returns 3

‘सायद’ र ‘होस्टेल’ जस्तो व्यवसायिक रुपमा सफल फिल्म दिएका निर्माता रावलले बनाएको यो तेश्रो फिल्म अहिले दर्शकमाझ प्रतिक्षित बनेको छ । आक्रमक प्रचारशैली र ‘होस्टेल’ को सिक्वेल भएकाले पनि यो फिल्म प्रतिक्षित बनेको हो । त्यसो त दुईवटा सफल फिल्म दिइसकेका निर्माता रावल पनि यो फिल्मबाट ‘ह्याट्रिक’ गर्ने क्रममा छन् । फिल्मले दर्शकको मन जित्ने हो या होइन् , त्यो हेर्न भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्