सिनेमा हल विहिन रोल्पालीले खुल्लामञ्चमा ऐतिहासिक ‘झोला’ हेरे (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । अहिलेसम्म सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पामा ऐतिहासिक नेपाली फिल्म ‘झोला’ देखाइएको छ । रोल्पाको लिवाङमा जारी ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’ को दोश्रो दिनको सत्र सकिएसँगै खुल्ला मञ्चमा प्रोजेक्टरमार्फत पर्दामा ‘झोला’ देखाइएको हो ।

IMG_0390

फिल्म हेर्न ठुलो संख्यामा रोल्पालीहरु उपस्थित भएका थिए । फिल्म हेर्दा धेरै महिलाहरुको आँखा रसाएको पनि पाईएको थियो । सय बर्ष पहिले आफुभन्दा अगाडी श्रीमानको निधन भए पश्चात जिउँदै चितामा जलेर सति जानुपर्ने महिलाको अवस्थाको यथार्थ कुरा बाहिर ल्याएकोमा चलचित्र लिएर रोल्पा पुगेका निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको स्थानिय दर्शकले खुलेर तारिफ गरेका थिए । दुई–तीन सय बराबरको संख्यामा खुल्लामञ्चमा जम्मा भएका बालकदेखी बृद्ध उमेरसम्मका व्याक्तिहरुले रोल्पामा सिनेमा घर बनाउन पहल कदमी गरिदिन पनि झोला निर्देशक र निर्माता समक्ष आग्रह समेत गरे ।

IMG_0381

सामान्य रुपमा नेपाली फिल्मको नाममात्र सुनेका रोल्पालीहरुले फिल्मप्रति देखाएको उत्साह र चासोलाई राम्रो फिल्म बनेमा दुर–दराजसम्म नि नेपाली फिल्मका दर्शक छन् भन्ने कुरा प्रमाणित भएको धेरैको बुझाई थियो । निर्देशक भट्टराईले नेपाली फिल्मको बजार विस्तारको क्रम चल्दै गर्दा ‘झोला’ प्रति रोल्पालीले देखाएको चाख काठमाडौंका दर्शकको भन्दा कम नभएको बताए । कार्यशाला चल्ने नौ दिनसम्म हरेक दिन साँझ स्थानिय दर्शक समक्ष नेपाली फिल्म देखाउने तालिका आयोजकले राखेपनि शनिवार बेलुका भने कुनै फिल्म देखाएनन् ।

IMG_0398

गरिमा पन्त, देशभक्त खनाल, सुजल नेपाल, दिपक क्षेत्री, लक्ष्मी गिरी लिड अभिनयमा रहेको यो चलचित्रमा राजसँगै रामगोपाल थापा, मालती शाह, सुशिल शाहको पनि लगानी छ । सार्वजनिक प्रदर्शनको क्रममा दर्शकको मन जितेको यो फिल्म अहिले विदेशमा विभिन्न सहरमा पनि प्रदर्शनको क्रममा छ भने निर्माण युनिटले नेपाली चलचित्र ईतिहासमा नै पहिलो पटक फिल्म पुनःप्रदर्शन गर्ने अभियानमा जुटेको छ । वैसाखमा रिलिज गर्ने तयारी भईरहे पनि मिती भने तय भईनसकेको निर्माता राजले बताए ।

प्रतिक्रिया दिनुहोस्