पहिलोपटक नेपाल आएकी ‘ह्यारी पोट्टर’ लेखिका जे.के रोलिङले भनिन् – ‘फेरी पनि आउन चाहन्छु’



विश्वप्रसिद्ध लेखिका जेके रोलिङ शुक्रवार काठमाण्डौं आइपुगेकी छिन् । निजी भ्रमण भएकाले रोलिङको नेपाल आगमनको सूचना गोप्य राखिएको थियो। तर बेलायतमा प्रमुख कार्यलय रहेको बिएफबिएस (ब्रिटिश फोर्स ब्रोडकास्टिङ सर्भिस) गोर्खा रेडियो नेपालका तर्फबाट उनीसंग स्टेशन म्यानेजर विनोदध्वज खड्काले अन्तरवार्ता लिएका छन् । रेडियाको कार्यलयस्थित ललितपुरमै लिइएको अन्तरवार्ताको अनुवादित अंश यस्तो छ  :-
roling final
हाम्रो स्टुडियोमा विश्वप्रसिद्ध लेखिका जेके रोलिङ आउनुभएको छ। हामीलाई जुन अन्तर्वार्ताका लागि समय दिनुभएको छ त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। हामीले यो अवसरलाई अहोभाग्य ठानेका छौँ। तपाईँलाई नेपालमा स्वागत छ। बिएफबिएस गोर्खा रेडियोमा स्वागत छ।

धन्यवाद।

तपाईँ नेपाल किन आउनुभयो? यो पहिलो नेपाल भ्रमण हो?
म पहिलोपटक नेपाल आएकी हुँ। म यहाँ आउनुको कारण के हो भने मेरा एकजना प्रिय र पुराना मित्र बेलायती दूतावासमा सुरक्षा अधिकारी हुनुहुन्छ- कर्नेल ह्यारिस। हामी उहाँलाई भेट्न आएका हौँ। मैले भन्नैपर्छ कि म यो सुन्दर ठाउँमा आउँदा निकै खुसी छु।

March 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  

भनेपछि तपाईँ फेरिफेरि पनि आउन चाहनुहुन्छ?
म फेरि पनि यहाँ आउन चाहन्छु। म फेरि पनि काठमाडौं आउने छु। दु:खको कुरा यसपटक हामी चार दिन मात्र यहाँ रहनेछौँ। तर यो निकै रमाइलो अनुभव रहनेछ।

तपाईँको सशस्त्र सेनासँग कुनै सम्बन्ध रहेको छ?
हो। छ। मैले धेरै गोर्खाहरुलाई भेटेकी छु। खासमा भन्नुपर्दा म यस्तो ठाउँमा जन्मेँ जहाँ सेनाको ठूलो तालिम केन्द्र थियो। त्यहाँ मैले धेरै सेनाहरुलाई भेटेकी छु। त्यहाँ मेरा साथीहरु पनि छन् जोसँग मेरो ३२ वर्ष भन्दा बढी समयदेखि सम्बन्ध छ। मलाई सेनाहरुका बारेमा धेरै थाहा छ।

तपाईँको लेखनका बारेमा कुरा गरौँ। तपाईँले ‘फिलोसोफरस् स्टोन’ पहिलोपटक कहिले लेख्न थाल्नुभयो?
१९९० मा यसको आइडिया आएको थियो।

यो कति चर्चित हुन्छ भन्ने कहिल्यै सोच्नुभएको थियो?
कहिल्यै पनि सोचेकी थिइनँ। तर ‘फिलोसोफरस् स्टोन’ को पहिलो च्याप्टरमा मैले ह्यारी पोट्टर विश्वभर चर्चित हुनेछ भनेकी छु। विश्वका सबै बालबालिकाले उसलाई चिन्नेछन् भनेकी छु तर वास्तविकतामा मैले कहिल्यै पनि यस्तो सपना देखेकी थिइनँ।
Jk Rowlingह्यारी पोट्टर नाम कहाँबाट आयो?
मलाई एकदम सामान्य र परम्परागत नाम चाहिएको थियो। बीचमा बसेर दोहोरो चेतना (डबल कन्सियसनेस) जनाउन सक्ने नाम मलाई चाहिएको थियो। वास्तवमा भन्ने हो भने यहाँ धेरै वास्तविक ह्यारी पोट्टरहरु छन्। एकजना इङ्ल्यान्डमा सेना थिए जसको आलोचना गरिएको थियो। मेरा हजुरबुबा। म आफै पनि ह्यारी पोट्टर हुँ किनकि मलाई पनि धेरै ठाउँमा गिज्याइएको छ।

ह्यारी पोट्टरको पहिलो फिल्म निर्माण सकिएर हेर्दा कस्तो अनुभव भयो?
यो असाधारण अनुभव थियो। फिल्म निर्माताहरुले मलाई फिल्ममा के कस्तो देखियो भनेर धेरै प्रश्न सोधेका थिए। यो पुरै सर्प्राइज थिएन तर जब पुरा फिल्म हेरेँ यो असाधारण थियो। आफूले लेखेका शब्द र बनाएको चित्रलाई फिल्ममा हेर्नु एउटा लेखकका लागि अनौठो कुरा हो।

के हामीले अझै बढी ह्यारी पोट्टर पढ्न पाउने छौँ?
ठ्याक्कै ह्यारी पोट्टर नै चाहिँ होइन। किनभने अझ बढी ह्यारी पोट्टर किताब लेख्ने मेरो योजना छैन। तर अन्य कुरा भैरहेका छन्। म फ्यान्टास्टिक फिल्मका लागि स्क्रिप्ट लेख्दै छु। यी रमाइला हुनेछन्। ह्यारी पोट्टर नाटकको तयारी भैरहेको छ।

के तपाईँलाई किताबमा फेर्न मन लागेको केही छ?
फेर्नै मन लागेको एउटा कुरा के हो भने मैले ह्यारीलाई एउटा यन्त्र (इम्प्लसिबल प्लट डिभाइस) दिएकी छु। यो निकै नै परम्परागत भएको छ। बढी नै काल्पनिक भएको छ। म यो फेर्न चाहन्छु।

तर अब पछाडि फर्कन त सम्भव छैन?
हो, फर्कन सकिँदैन।

ह्यारी पोट्टर पुरा गर्न र यसलाई एडल्ट फिक्सन बनाउन कत्ति गाह्रो भयो?
यो निकै नै मुस्किलको काम थियो। यो मेरा लागि मृत्युजस्तै थियो। ह्यारी मसँग १७ वर्षसम्म सँगै थियो र यो लेख्दा मेरो जीवनको सबैभन्दा कठिन समय थियो र सबैभन्दा रमाइलो समय पनि। यसले मेरो जीवन पनि परिवर्तन गरिदियो। मैले खासमा जे लेख्न चाहेको थिएँ, त्यो लेख्ने मौका पनि थियो यो समय। जब यो अनुभव सकियो यो आनन्दको बेला थियो, ढुक्कजस्तो। मैले ७ ओटा किताव लेखेँ, यो एउटा गर्वको कुरा पनि थियो। मलाई लेख्न निकै मजा लाग्थ्यो। एकपछि अर्को गर्दै मैले यी ७ वटा किताब लेखेँ।

धेरै मान्छेहरुले सोध्छन्- तपाईँले ह्यारी पोट्टर बन्द किन गर्नुभयो?
हो। यो प्रश्न मलाई जहाँ पनि सोधिन्छ। पाठकले यसो भन्नु उचित हो तर एउटा लेखकका रुपमा भन्दा ह्यारीको कथा पूर्ण भैसकेको छ। अब पुरा भैसकेको कथामा पनि पुस्तक निकालिरहनु गलत हुन सक्छ।

अहिले युके टेलिभिजनमा तपाईँको पुस्तकमा आधारित कार्यक्रम प्रशारण भैरहेको छ। कस्तो भैरहेको छ?
यो रमाइलो भैरहेको छ। कुनै पुस्तक वा उपन्यास जुन फिल्म, टिभीमा एडप्ट गरिन्छ, त्यसमा कथा, चरित्र र सम्वादहरुलाई विश्वसनीय ढंगले प्रस्तुत गर्नु चुनौतीपूर्ण हुन्छ, अझ भनुँ असम्भव नै हुन्छ। तर उहाँहरुले यसको विषयवस्तु, स्थान तथा चरित्रहरुमा न्याय गर्नुभएको छ।

सार्वजनिक जीवन जिउन कति गाह्रो हुन्छ? परिवार र निजी जीवनका लागि समय छुट्याउन कति गाह्रो छ?
मेरा लागि यो सजिलो छ। युकेमा प्रेससँग मेरो सम्बन्ध छ। किनभने म प्रेसलाई बुझ्छु। म आफ्नो परिवारका लागि पनि समय छुट्याउँछु। म आलोचना पनि स्विकार्छु। पाठकका प्रश्नको उत्तर दिन्छु। आफूलाई गरिने आलोचनामा कमेन्ट गर्ने मानिस लेखक हुन सक्दैन, ऊ मुर्ख हुन्छ। म बिहान काठमाडौंमा ब्रिटिस स्कुलमा गएँ। मैले यति उत्साही किशोर पाठकहरु भेटेँ जस्ले मलाई मेरो लेखनका बारेमा निकै प्रतिभाशाली प्रश्न सोध्नुभयो। कसैले मलाई मेरो शब्दमा प्रश्न गर्छ भने त्यो निकै महत्वपूर्ण कुरा हो।

यसो गर्दा एउटा लेखकलाई झन् शक्ति आउँछ होला।
पक्कै पनि। यसले तपाईँलाई एउटा लेखकका रुपमा तपाईँले बिर्सन खोजेका विषयहरु सम्झाइदिन्छ। ओहो, मेरो कुरा त यहाँसम्म पनि पुग्न सक्दो रहेछ नि भन्ने ज्ञान दिन्छ। तपाईँका लागि यो प्रेरणादायी हुन्छ।

ग्रेट। तपाईँलाई आफ्नो जीवनमा प्राप्त गर्न मन लागेको कुरा केही छ? तपाईँको आगामी प्रोजेक्ट के हुनेछ?
कति छन् कति। एउटा पुस्तकमा लागिरहेको छु। म विभिन्न परोपकारी कार्यहरुमा संलग्न छु। विभिन्न बालगृहमा रहेका बालबालिकालाई सहयोग गर्ने एउटा प्रोजेक्ट छ, त्यसमा संलग्न छु। कसैले आफ्ना आमाबाबु गुमाए भने पनि बालबालिकाको भविष्यका लागि काम गर्न सकिन्छ भनेर लागेका छौँ। संस्थागत रुपमा बालबालिका राख्नुभन्दा एडप्टेसन जस्ता विकल्प अझ उत्तम हुन सक्छन् भनेर यसमा लागेकी छु। हुन त यो विश्वकै समस्या हो तर पूर्वी युरोपमा यो समस्या निकै बढिरहेको छ। यो ठूलो अभियान हो।

सिर्जनात्मक लेखक (क्रियटिभ राइटर) बन्न चाहने एउटा नेपालीले तपाईँलाई राम्रो लेखक कसरी बन्ने भनेर सोध्यो भने तपाईँको सुझाव के हुन्छ?
केही लेखक समूहमा काम गर्न चाहन्छन्। तर मजस्ता लेखक एक्लै काम गर्न चाहन्छन्। मेरो विचारमा यो तपाईँको स्वभावमा भर पर्छ। तपाईँलाई लेखकहरुसँगको सम्बन्ध र सञ्जाल पनि फलदायी हुन सक्छ। तपाईँले धेरै पढ्नुपर्छ। कहिलेकाहीँ आफ्नो कामसँग निर्दयी पनि बन्नुपर्ने हुन्छ। यदि तपाईँ केही कुरामा लाग्न चाहनुहुन्छ भने यसरी लाग्नुस्, अरुले यसलाई मतलब नगरि बस्नै नसकुन्।

अन्त्यमा, यदि तपाईँसँग एउटामात्र इच्छा छ भने त्यो के हो?
अँ… म स्वार्थी भएर भन्ने हो भने म मेरा बालबालिकाको हितका बारेमा सोच्छु। तर मेरो निस्वार्थ इच्छा भन्ने हो भने विश्वका ८० लाख बालबालिका जो परिवारविहीन छन्, उनीहरुले आफ्नो परिवार पाउन् भन्ने इच्छा राख्छु। यो नै विश्वलाई जोड्ने उपाय हो।   

गोर्खा रेडियोमा आइदिनुभएको धन्यवाद्। अर्को पटक पनि तपाईँलाई स्वागत गर्न पाउँ।
म पनि खुसी हुने छु। धन्यवाद।

प्रतिक्रिया दिनुहोस्