पाँच महिनादेखि रिक्त चलचित्र विकास वोर्डको अध्यक्षमा राई नियुक्त



रंग खबर, काठमाण्डौं । पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्ष पदमा राजकुमार राई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्माता संघका अध्यक्ष राईलाई दुई वर्षको लागि विकास वोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
Rajkumar Rai‘धर्मेन्द्र मोरवैता ‘पप्पु’ को दुई वर्षे कार्यकाल सकिएपछि गएको माघ महिना देखि विकास वोर्डको अध्यक्ष पद रिक्त थियो । वोर्ड अध्यक्षका लागि अन्य केही फिल्मकर्मीले ताकेता गरेपनि सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको बलियो साथ पाएपछि राई फिल्म क्षेत्रको सबै भन्दा उच्च पद सम्हाल्न सफल भएका हुन् । आउँदो सोमबार पद बहाली गर्ने जानकारी दिदैं फिल्म क्षेत्रको हितको लागि वोर्डमा रहेर काम गर्ने उनले बताएका छन् । ‘यदि फिल्म क्षेत्रको लागि कसैले सहि कुरा ल्याउँछ भने म एक मिनेट ढिलो नगरी निर्णय गर्न तयार छु’, उनले भने ।

को हुन् राई ?
इटहरी जन्मथलो भएका राजकुमार राई झण्डै दुई दशक देखि फिल्म क्षेत्रमा सक्रिय रुपमा आवद्ध छन् । पचास बढी नेपाली फिल्ममा लगानी लगाएका उनले आफ्नो ब्यानर ‘आरसी पिक्चर्स’ बाट दश वटा नेपाली फिल्म निर्माण गरेका छन् । आरसी पिक्चर्सको ब्यानरमा निर्माण भएका मध्ये ‘पापी मान्छे’ र ‘पापी मान्छे २’लगायत फिल्म व्यापारिक रुपमा सफल छन् । उनको पछिल्लो फिल्म ‘वन वे’ गएको वर्ष प्रर्दशनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्