‘ककरोच’को कपाल किस्सा



हास्य टेलिशृंखला ‘भद्रगोल’का कलाकार हुन्, हरि निरौला । धेरैले उनलाई ‘ककरोच’ नामले चिन्छन् । ‘ककरोच’ को डे«डलक कपाललाई लिएर सिरियलभित्रका ‘बले’ ले सधैँ भन्ने गर्छन्, ‘ककरोच बोरोको कपाल चाहिँ हो क्या !’ उनै ककरोचले आफ्ना कपालका केही किस्सा अनिल यादवलाई बताएका छन् ।
cockroach

कपालले छायामा पार्यो
हिजोआज म जता जान्छु, त्यता मेरो कपाल प्राथमिक बन्छ । जसले पनि कपाललाई नै लिएर प्रश्न गर्छन् । यसकै प्रशंसा गर्छन् । मेरो अभिनयको कुरा कसैले गर्दैनन् । मलाई ‘ह्यान्डसम’ कसैले भन्दैनन् । सबैले कपाललाई नै राम्रो भन्छन् । कपालले मेरो सुन्दरतालाई पनि ओझेलमा पारिदियो । म कोरियोग्राफर पनि हो । २५–३० वटा म्युजिक भिडियो निर्देशन गरिसकेँ । धेरै विद्यालयमा डान्स सिकाउँछु । तर, मेरो कोरियोग्राफीको चर्चा हुँदैन, डान्सको चर्चा हुँदैन । चर्चा हुन्छ त यही कपालको । कपालले मलाई छायामा पारिदिए जस्तो लाग्छ ।

कपाल कपी गर्ने फ्यान
‘ककरोच’ भईकन मैले धेरै खाले फ्यान पाएको छु । मेरै जस्तो कपाल बनाउने फ्यान पनि पाएँ । एकजना धादिङकी सेफ्रिन नामकी युवती थिइन् । सिरियलमा मलाई देखेर मेरो जस्तै ड्रेडलक कपाल बनाइछिन् । उनले मसँग सम्पर्क पनि गरिन् । म भनेपछि मरिहत्ते गर्थिन् । ‘टीभीमा तपाईंलाई देख्नेबित्तिकै आमाले ‘तेरो बूढो आयो है’ भन्दै जिस्काउनुहुन्छ’ भनेर सुनाउँथिइन् ।
त्यस्तै काठमाडौँमा एकजना चारपाँच वर्षको बच्चा छ । उसले पनि मेरो कपाल देखेपछि घरमा त्यस्तै कपाल बनाउने भनेर जिद्दी गरेछ । त्यसपछि सैलुन लगेर उनका बुबाले एउटा डे«डलक जोडिदिएछन् । फेसबुकबाट त्यो बच्चाको फोटो सेभ गरेर राखेको छु ।

दुवै बाउ कडा
मेरा दुइटा बाउ छन् । एकजना रियलमा छन्, एकजना रिलमा । तर, संयोग मान्नुपर्छ दुवै बाउ कडा छन् । सिरियलका बाउले सधैँ गाली गर्छन् । ‘कपाल काट्’ पनि भनेका छन् । रियलमा पनि त्यस्तै भएको छ । ‘भद्रगोल’ खेल्नुभन्दा अघि बुबाले ‘यो कपाल काटिहाल्’ भन्थे । उनीसँग आँखा जुधाएर बोल्न सक्दिनथिएँ । ‘सिरियल खेल्दै छु, त्यही भएर नकाटेको’ भनेर सम्झाउन खोज्थेँ । ‘धुर्मुस कपाल नपाली हिट भयो त’ भनेर उल्टै हपार्थे । मेरो कपाल धुन स्याम्पू धेरै चाहिन्थ्यो । झण्डै आधा ट्यांकी पानी सिधिन्थ्यो । ‘कि कपाल काट्, कि स्याम्पू किन्’ भनेर बाउले गाली गर्थे । कपालका कारण घरै छाड्नुपर्ने अवस्था आइसकेको थियो । अहिले चाहिँ बाउले गाली गर्दैनन् ।

‘ड्यामेज’ कपाल नै हिट भयो
खासमा मेरो कपाल सानोमा सिल्की थियो । काठमाडौँ आएपछि आफैँ डल्लो पर्दै गयो । कर्ली हुँदै गयो । लट्टा प¥यो । ड्यामेज भयो भन्ठानेको अहिले त यही कपाल पो हिट भयो । छ वर्षजति भयो, कपाल काटेको छैन । काट्दिनँ पनि ।
केही वर्षअघि म मोटो र खाइलाग्दो थिएँ । मिलेको ज्यान थियो । मेरो सपना पनि हिरो बन्ने थियो । तर, जब हिरो बन्नकै लागि डान्स सिक्दै गएँ, ज्यान पनि सिद्धिँदै गयो । दुब्लाउँदै गएँ । दुब्लाएको ज्यान लिएर जिम हल जान पनि लाज लाग्यो । भगवान्ले ‘ककरोच’ बनाउन दुब्लो बनाइदिए जस्तो लाग्छ ।

कपालले बनाएको भूत
एक दिन साँझ साढे ७ बजेतिर गौशालाबाट सानो गल्ली हुँदै सिफल निस्किँदै थिएँ । एकजना वृद्धासँग जम्काभेट भयो । अँध्यारो थियो । मलाई देखेर उनी चिच्याइन् । अत्तालिएर ‘भूत, भूत’ भन्न थालिन् । ‘म भूत होइन’ भनेर सम्झाएँ । मेरो डे«डलक कपाल देखेर उनी आत्तिएकी रहेछिन् ।
cockroach 2

कपालको दुःख
मेरो कपालले जति धेरै चर्चा कमाइरहेको छ, त्यति नै दुःख खेपिरहेको छु । यसको स्याहारसुसारका लागि निकै मेहनत गर्नुपर्छ । गर्मीमा त तनाव हुन्छ । धुलो छिर्छ । चिलाउन थाल्छ । धोइरहनुपर्छ ।
प्रायः धेरै हास्य कलाकार पर्दाकै गटेअपमा बाहिर देखिँदैनन् । तर, मेरो गेटअप सिरियलकै जस्तो हुन्छ । त्यसैले टाढैबाट चिन्छन् ‘ककरोच’ भनेर । एक महिना भयो बाइक किनेको । त्योभन्दा अघिसम्म पैदल हिँड्थेँ । पहिले धेरै दुःख गरियो । चिया खाने त पैसा हुँदैन थियो, ट्याक्सीमा हिँड्नु त परकोे कुरो । त्यसैले बाटोमा धेरैले रोक्दै फोटो खिच्थे । नक्कली कि सक्कली कपाल भन्दै समात्थे । लुछेरै लगुँला जस्तो पनि गर्थे । बाटोमै अलमलिनुपर्दा भनेको समयमा काममा पुग्न गाह्रो हुन्थ्यो ।

छाता र सिरानी नचाहिने
कपालले दुःख थोरै दिए पनि फाइदा धेरै पु¥याएको छ । चर्चा पनि यही कपालले दियो । रमाइलो कुरा त के छ भने मलाई पानी पर्दा छाता पनि चाहिँदैन । बाँधेको कपाल खोलेपछि यसले नै छाताको काम गरिदिन्छ । कपालको साइडबाट पानी झर्छ । त्यसैले म छाता ओड्दिनँ । त्यस्तै अर्को रोचक कुरा भनेको म राती सुत्दा सिरानी प्रयोग गर्दिनँ । कपाल नै सिरानी भन्दा अग्लो हुन्छ ।
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्