हास्यकलाकार राजु कमेडी भन्छन्- ‘थोत्रो रेडियो फाप्यो’



फरक/रोचक

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘डिट्ठा सा’ब’ मा राजु कमेडी (भुजेल) ले ‘पन्ना काजी’ र ‘नारायण बाजे’को भूमिका निर्वाह गर्छन् । उनले सिरियलमा बोल्ने ‘नारायण भन मलाई’ र ‘दैव के देख्नुपर्यो नि मैले’ थेगो दर्शकमाझ लोकप्रिय हुँदै छ । ‘गाई कि त्रिशुल, ‘तितेकरेली’, ‘मेरी बास्सै’लगायत सिरियलमा अभिनय गरिसकेका राजुले आफ्नो अभिनय यात्राका क्रममा भोगेका केही फरक/रोचक अनुभव अनिल यादवसँग साटेका छन्ः
raju comedy 2
आयोजकले पत्याएनन्
‘नारायण बाजे’ र ‘पन्ना काजी’ दुवै बूढा क्यारेक्टर हुन् । म २७ वर्षको केटोले सिरियलमा ६० कटेको वृद्धको भूमिका गर्छु । त्यसैले पर्दा बाहिर मलाई कसैले चिन्दैनन् । अरूले नचिन्दाका दुःख/सुःख दुवै छन् । लोकल बसमा हिँड्न पाइन्छ । यो सबभन्दा फाइदाजनक कुरा हो । धेरैजसो ठाउँमा स्टेज कार्यक्रमका लागि पुग्दा आयोजकले नै पत्याउँदैनन् । एकवर्षअघि त्रिशुलीमा कार्यक्रम थियो । फोनमा कुराकानी भएकै भरमा सम्झौता भएको थियो । त्यतिबेला मलाई रिसिभ गर्न आउने आयोजकले नै चिनेनन् । मैले ‘तपाईंले खोजेको मान्छे मै हुँ’ भन्दा पनि ती आयोजकका तर्फबाट आइपुगेका मित्रले मलाई पत्याएनन् । ‘हाम्ले त नारायण बाजे बोलाको हौँ’ भन्नुभयो । पछि म गेटअप गरेर स्टेजमा उत्रिएपछि मात्र उहाँले पत्याउनुभयो ।

थोत्रो रेडियो फाप्यो
मैले सिरियलमा एउटा ठूलो रेडियो सधैँ बोक्छु । कतारबाट छोराले पठाएको पैसाले जापानबाट मगाएको रेडियो भन्दै गीत बजाएर नाच्छु । अरू कसैलाई नाच्न दिन्न । यो रेडियोको पनि रमाइलो कथा छ । खासमा भन्नुपर्दा यो रेडियो जापानबाट मगाएको होइन । पेप्सीकोलामा मैले चिनेको एकजना साथीको इलेक्ट्रोनिक पसलबाट मागेर चलाएको हुँ । त्यहाँ बनाउन दिएको रैछ । तर, लिन आएन । सायद, थोत्रो भनेर होला । मलाई भने त्यही थोत्रो रेडियो फाप्यो ।

पुलिसले समात्दा
त्यतिबेला मैले भर्खर–भर्खरै ‘मेरी बास्सै’मा अभिनय गर्न थालेको थिएँ । सिरियलमा मैले बाबुराम भट्टराईको भान्जा ‘रेन्बो’को भूमिका निर्वाह गरेको थिएँ । ट्यापे टाइपको क्यारेक्टर थियो मेरो । त्यसैले मैले डेडलक कपाल पालेको थिएँ । कानमा मुन्द्रा लगाउँथेँ । एकपल्ट मलाई काठमाडौँ, तिनकुनेमा पुलिसले समात्यो । मलाई त्यही हुलियाका कारण ट्यापे देखियो भनेर समातेको भन्ने लाग्यो । मेरो त सातो गयो । अब फसिने भइयो भन्ने लाग्यो । केही नभनिकन पुलिस थानासम्म लग्यो । थानामा लगेर त ‘तिमी ‘मेरी बास्सै’ खेल्छौँ होइन ? ल राम्रो गर’ भन्दै छोडे । म त दंग परे । खुशी पनि लाग्यो ।

मन्दिर नधाउने पण्डित !
सिरियलमा मैले निर्वाह गर्ने चरित्र ‘नारायण बाजे’ गाउँको जानेबुझेको पण्डित हो । उसलाई अरूले ठाडो बोलेको मन पर्दैन । झारफुक पनि गर्छ । पर्दामा म यस्तो भूमिकामा देखिए पनि वास्तवमा म यस्तो छुइनँ । मलाई कुनै मन्त्र पनि आउँदैन । न म झारफुकमा विश्वास गर्छु । धर्मप्रति आस्था छ । तर, मन्दिर धाउदिनँ । त्यसैले कहिलेकाहीँ साथीहरूले जिस्काउँछन्– ‘तँ त मन्दिर नधाउने पण्डित’ ।
raju comedy

आन्टीहरूको रिक्वेस्ट बढी
सिरियलमा बाजेको क्यारेक्टर गरेपछि युवती पछि लाग्ने त कुरै भएन । मैले पहिले चलाएको फेसबुक अकाउन्टमा क्यारेक्टरकै फोटोलाई प्रोफाइल बनाएको थिएँ । त्यतिबेला प्रायः सबै आन्टीहरूको मात्र रिक्वेस्ट आउँथ्यो । उनीहरूले मलाई साँच्चिकै बुढो नै ठान्दारहेछन् । कामको प्रशंसा गर्थे । त्यो अकाउन्ट अहिले पेजमा कन्भर्ट गरिसकेँ । नयाँ अकाउन्ट चलाइरहेको छु ।

प्रस्तुति नदिई पारिश्रामिक
सन् २०१५को नयाँ वर्षको अवसरमा नेपालगञ्जस्थित सिद्धार्थ होटलमा कार्यक्रम थियो । मसँगै रामकृष्ण ढकाल र शिवानी मोक्तानको पनि प्रस्तुति थियो । त्यतिबेला बडो रमाइलो अनुभव भएको थियो । कार्यक्रममा दुई सेसनमा मेरो प्रस्तुति तय गरिएको थियो । एकचोटि स्टेज चढ्दा बत्ती नै गयो । दोस्रोपल्ट मेरो पालै आइदिएन । रामकृष्ण दाइले लगातार १२ बजेसम्म गाइदिनुभयो । मैले त प्रस्तुति नै नदिइकन पारिश्रामिक लिएर फर्किनुपर्यो । अलिकति खल्लो पनि लागेको थियो ।

नाम चाहिँ कमेडी, मान्छे सिरियस
धेरैले मलाई भन्छन्, ‘तँ त हेर्दा कमेडियन जस्तो छैन । पूरै सिरियस देखिन्छस् ।’ हो पनि । म वास्तवमा कम बोल्छु । नामको पछाडि ‘कमेडी’ राखे पनि म मान्छे सिरियस छु । हास्यकलाकार दीपकराज गिरीले पनि सधैँ जिस्काइरहनुहुन्छ, ‘भाइ नाम चाहिँ राजु कमेडी । तर, हामीसँग चाहिँ कहिल्यै कमेडी गर्दैनौ । किन हो ?’ सबैले त्यसो भन्दा कहिलेकाहीँ त नामै परिवर्तन गरिदिउँ जस्तो लाग्छ । ‘राजु सिरियस्ली कमेडी’ राखिदिउँ कि जस्तो लाग्छ ।
साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्