खस्कियो फिल्मको व्यापार, १० मा ९ असफल



प्रकाश ढकाल, काठमाडौँ – वर्ष २०७५ सुरुवातसँगै नेपाली फिल्मको व्यापार खस्किएको छ । यसमा फिल्मको कमजोर कथाबस्तु र विदेशी फिल्मको प्रभाव देखिन्छ । पहिलो महिनाको व्यापारलाई हेर्ने हो भने फिल्म क्षेत्रले सन्तुष्टि मान्नु बाहेक अर्को विकल्प छैन ।

कुरा सुरु गरौ नयाँ वर्षको बम्पर बिदा खान रिलिज भएका दुई फिल्मबाट । गत वर्षको अन्तिम दिन प्रदर्शनमा आएका ‘लिलिबिली’ र ‘नेप्टे’लाई फिल्म क्षेत्रले आशा गरेको थियो । तर, यी दुई सिनेमा बक्स अफिसमा खरो उत्रिन सकेनन । ‘लिलिबिली’को बम्पर र ‘नेप्टे’को सन्तोषजनक व्यापारको आंकलनले फेल खायो । पहिलो दिन सोचे भन्दा कमजोर व्यापार गरेका यी दुई फिल्मलाई दोस्रो दिन अर्थात नयाँ वर्षको बिदाले केहि राहत दियो । तर, एक दिनको व्यापारले लगानी सुरक्षित गर्न सम्भव भएन । बलिउडका लभस्टोरी फिल्महरुको समिश्रण ‘लिलिबिली’को व्यापारिक लय नयाँ वर्षको रौनकसँगै हराएर गयो । त्यस्तै हाल भयो ‘नेप्टे’को ।

बैशाख ७ मा प्रदर्शित ‘स्वर्ग मेरो गाउँ’ हलमा आए गएको पत्तो भएन । बैशाख दोस्रो सातामा रिलिज ‘ह्याप्पी डेज’ले निर्माता स्याड बनाउदा ‘कोहलपुर एक्सप्रेस’ले भने चोरीको आरोप खेप्दै जेनतेन लगानी सुरक्षित गर्न सफल भयो । हलिउडको ‘एभेन्जर्स – इन्फिनिटी वार’सँगै रिलिज भएकोले पनि यी दुई फिल्मलाई लगानी उठाउन धौ-धौ पर्ने अनुमान गरिएको थियो । तर, राम्रो प्रचार गरेको ‘कोहलपुर एक्सप्रेस’ले आफुलाई सेफ ल्यान्डिङ गरायो ।

त्यस्तै बैशाख २१ मा रिलिज भएका ‘डमरुको डण्डीबियो’ र ‘भोर’लाई लिएर पनि फिल्म क्षेत्र आशावादी थियो । ‘भोर’ले त्यो आशामा तुसारापात छर्दा ‘डमरुको डण्डीबियो’ले पनि निर्माताको लगानी सुरक्षित गर्न नसकेको फिल्मवृतमा चर्चा छ । तर, यी दुई फिल्मलाई दर्शकले मन पराएपनि समिक्षकबाट औसत समिक्षा बटुलेका थिए ।

बैशाख अन्तिम साता रिलिज भएका तीन फिल्म ‘लम्फू’, ‘हिरोज’ र ‘मनांगे नानी’ले समेत नेपाली दर्शकको खडेरी रोक्न सकेनन् ।

यसरी वर्षको पहिलो महिना हेर्दा ९ सिनेमाले आफ्नो लगानी सुरक्षित गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्