प्रदिप र पूजाको पुन: एकपटक भिडन्त पक्का



रंगखबर, काठमाडौँ- फिल्म ‘प्रेम गीत’को सफलतासँगै एकाएक चर्चामा आएका कलाकारद्वय हुन् प्रदिप खड्का र पूजा शर्मा । ‘प्रेम गीत’को सफलताले यी दुईको उचाई यति माथि सम्म पुग्यो कि अहिले सम्म दुईले पछाडी फर्केर हेर्नु परेको छैन । ‘प्रेम गीत’ प्रदर्शन पछि एक अर्काको अनुहार पनि हेर्न नरुचाउने यी दुईको सम्बन्धमा केहि समय अघिमात्र थोरै सुधार आएको थियो । मिडियाको अगाडी देखाउनै भए पनि सम्बन्ध राम्रो भएको देखाउन खोज्ने यी प्रेमगीत जोडीको पुन: एक चोटी एक अर्कामा भिडन्त हुने पक्का-पक्कि भएको छ । अब भने यी दुईले अभिनय गरेको फिल्म ‘रोजी’ र ‘रामकहानी’ जुध्ने पक्का भएको छ ।

विहिबार मात्र ट्रेलर सार्वजनिक गरेकी अभिनेत्री पूजाले आफ्नो फिल्म ‘रामकहानी’को प्रदर्शन मिति छायांकन सुरु गरेदेखि नै तय गरेकी थिईन भने अभिनेता प्रदिप खड्का अभिनित सत्य घटनामा आधारित फिल्म ‘रोजी’पनि अब सोहि मितिमा प्रदर्शन हुने भएको छ ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलको निर्देशन रहेको ‘रोजी’मा आयरा पौडेल र आरोही केसीको संयुक्त निर्माण रहेको छ । फिल्ममा प्रदिपका साथै अभिनेत्री परमिता राज्यलक्ष्मी राणा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

त्यस्तै पूजा शर्माको लागनी एवंम सुदर्शन थापाको कथा लेखन र निर्देशनमा बनेको फिल्म ‘रामकहानी’मा  पूजा शर्मा र आकाश श्रेष्ठका साथमा विल्सन विक्रम राई, केदार घिमिरे, जितु नेपाल, राजाराम पौडेल, रविन्द्र झा आदि कलाकारहरुको अभिनय रहेको छ ।

अब हेर्न यो बाँकी छ कि एकताका हिट फिल्म दिएका यी दुई मध्ये दर्शकले कसको फिल्मलाई रुचाउँलान ? त्यसको लागि भने भदौ २२ नै पर्खनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्