अग्रिम बुकिङ शोज: प्रदीप अगाडी की पूजा ?



रंगखबर, काठमाडौँ – यो शुक्रबारबाट सुरु हुने बक्सअफिसको महाभिडन्तका लागि ‘रामकहानी’ र ‘रोज’ तयार छन् । खडेरी लागेको बक्सअफिसलाई यी दुई फिल्मको चर्चाले उकास्ने आशा गरिएको छ ।

निक्कै चर्चाबीच रिलिज हुन् लागेका यी फिल्मको लागि बुधबारै मल्टीप्लेक्समा अग्रिम बुकिङ खोलिएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबीचको  स्टारडम लक्षित यो भिडन्तमा मल्टीप्लेक्सतिर कसले बाजी मारेको छ त ? हेरौँ अग्रिम बुकिङका शोज संख्याहरु ।

सुदर्शन थापा निर्देशित ‘रामकहानी’लाई देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले, आफ्ना ८ ओटा स्टेसनमा २२ शोज उपलब्ध गराएको छ । त्यस्तै क्युएफएक्सका ८ ओटै स्टेसनमा निरक पौडेल निर्देशित ‘रोज’ले सुरुवाती २४ शोज पाएको छ । यो मल्टीप्लेक्समा ‘रामकहानी’लाई ‘रोज’ले २ शोजले उछिनेको छ ।

त्यस्तै राजधानीको एफक्युबमा दुवै फिल्मले बराबर ४/४ शोज पाएका छन् । नयाँ बसपार्कस्थित बिएसआर मुभिजले ‘रोज’लाई ५ र ‘रामकहानी’लाई ४ शोज उपलब्ध गराएको छ । त्यस्तै दरबारमार्गस्थित क्युजमा दुवै फिल्मले ४-४ शोज पाएका छन् । तर, सिभिल ट्रेड सेन्टरमा अवस्थित सिडीसीले बेलुका ७ बजेसम्म कुनै पनि शोज दिएको छैन ।

बेलुकी ७ बजेसम्मको अग्रिम शोज संख्यामा ‘रामकहानी’भन्दा ‘रोज’ ३ शोजले अगाडी देखिएको छ । तर, मल्टीप्लेक्समा यी दुई फिल्मलाई हलिउडको प्रतिक्षित फिल्म ‘द नन’ले असर पारेको छ । उसले पनि मल्टीप्लेक्समा दुई नेपाली फिल्मकै हारहारीमा शोज पाएको छ ।

कमेडी लभस्टोरीमा निर्माण भएको ‘रामकहानी’मा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । भने ‘रोज’मा प्रदीपको अपोजिट परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरले अभिनय गरेका छन् । ‘रोज’ पूर्णतया लभस्टोरी फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्