गोपीकृष्णबाट ‘रामकहानी’ले हात झिक्यो, यस्तो छ कारण



रंगखबर, काठमाडौँ – शुकबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’ राजधानीको गोपीकृष्ण हलमा प्रदर्शन नहुने भएको छ । फिल्मकी निर्मात्री तथा अभिनेत्री पूजा शर्माले आफ्नो फेसबुक अकाउन्टमा स्टाटस पोस्टिदै ‘रामकहानी’ देशकै राम्रो दर्शक क्षमता भएको हलमा प्रदर्शन नहुने जानकारी दिइन ।

यसबारेमा निर्देशक सुदर्शन थापासँग बुझ्न खोज्दा, उनले गोपीकृष्णले धोका दिएका कारण फिल्म प्रदर्शन गर्न नसकिएको बताए । ‘पहिले ठुलो हल दिन्छौँ भनेका थिए । अहिले आएर सानो हल मात्र दिए । त्यसैमा ‘रामकहानी’ हेर्न आउने दर्शकहरुलाई ‘रोज’ हेर्न फोर्स गरिरहेका कारण वितरक सुनिल मानन्धरको सल्लाहमै गोपीकृष्णमा प्रदर्शन गर्न असमर्थ भएका हौँ ।’ उनले भने ।

साथै, सुदर्शनले गोपीकृष्णमा आउने ‘रामकहानी’को दर्शकलाई नजिकैका केएल टावरलगायतका हलमा पुगीदिन आग्रह पनि गरे । अन्तिम समयमा आएर गोपीकृष्णले धोका दिदा ‘रामकहानी’का दर्शक, शुक्रबारको पहिलो शोजमा झुक्किनु पर्ने अवस्था आएको छ ।

‘रामकहानी’ भोलिबाट देशभर सय बढी हलमा प्रदर्शन हुँदैछ । देशका मल्टीप्लेक्समा पनि राम्रो शोज पाएको फिल्ममा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्