देशैभरका हलमा ‘रामकहानी’ र ‘रोज’ प्रदर्शन



रंगखबर, काठमाडौँ – यो शुक्रबार नेपाली बक्सअफिसमा तीन फिल्म प्रदर्शनमा आएका छन् । नेपाली ‘रामकहानी’ र ‘रोज’सँगै हलिउडको ‘द नन’ले यो साताबाट प्रतिस्प्रर्धा सुरु गरेका छन् । चर्चा गरौँ यी तीन फिल्मको बारेमा ।

रामकहानी

सुदर्शन थापा निर्देशित यो नवौँ फिल्म हो । प्राय: लभस्टोरी फिल्म लिएर आउने सुदर्शनले यसपटक कमेडी लभस्टोरी लिएर आएका छन् । फिल्ममा केन्द्रिय भूमिका पूजा शर्मा र आकाश श्रेष्ठले निभाएका छन् । गीत/संगीत, ट्रेलर, बिग व्यानर, मल्टीस्टारहरुको भिडका कारण ‘रामकहानी’ दर्शक र बक्सअफिसका लागि प्रतिक्षित थियो ।

अलनेपाल सय भन्दा बढी हलबाट प्रदर्शनमा आएको फिल्मले मल्टीप्लेक्समा पनि राम्रै शोज पाएको छ । तर, एडभान्स बुकिङ फिल्मको चर्चा अनुरुपको छैन । फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतलगायतको पनि अभिनय छ ।

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा पूजा र सुदर्शन स्वयम्ले लगानीमा सहकार्य गरेका छन् । फिल्ममा अर्जुन पोखरेलको शब्द/संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

रोज

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । क्राइम लभस्टोरीमा प्रदीप खड्कासँगै मिरुना मगर र परमिता राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । ‘रामकहानी’कै जति हल संख्याका साथ प्रदर्शनमा आएको फिल्मले मल्टीप्लेक्समा पनि राम्रो स्थान पाएको छ । तर, एडभान्स बुकिङमा यसको पनि ‘रामकहानी’कै जस्तो हालत छ ।

प्रदीपको स्टारडम र कथाबस्तु फिल्मको चल्ने आधार हुन् । प्रदीपका लगातार तीन फिल्म हिट भएकाले ‘रोज’बाट पनि निक्कै आशा गरिएको छ ।

आयरा पौडेल र आरोही केसीको लगानी रहेको फिल्ममा केदार भुसालको कथा छ ।

द नन

‘द कन्जुरिङ युनिभर्स’को पाँचौ इन्सलमेन्ट ‘द नन’ नेपालमा प्रतिक्षित फिल्म हो । हरर जानराको यो फिल्मले मल्टीप्लेक्समा अत्याधिक शोज पाएको छ । एडभान्स बुकिङमा पनि राम्रो गैरहेको फिल्मको समिक्षा भने सोचेअनुरुप छैन ।

फिल्मलाई अधिकाँस समिक्षकले एभरेज रेट गरेका छन् । कोरिन हार्डी निर्देशित फिल्म, ‘द कन्जुरिङ’ अगाडीको कथामा आधारित छ । फिल्ममा डेमीअन बिचर, तैस्सा फर्मिगा, जोनस ब्लोक्विटको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्