अनमोलको निरन्तरता, तर प्रदीपले सकेनन् !



रंगखबर, काठमाडौँ – अहिलेको परिवेशमा अभिनेता अनमोल केसी र प्रदीप खड्का एकअर्काका प्रतिस्पर्धी हुन् । र दुवै जना दर्शकले हेर्न चाहने अनुहार पनि। दुवैका समान पाँच फिल्म रिलिज भएका छन् ।

पाँच फिल्मसम्म आइपुग्दा दुवैले प्रत्येक फिल्ममा फरक-फरक हिरोइनसँग जोडी बाँध्दै आएका थिए । दोस्रो फिल्ममा अभिनेत्री नदोहर्याउने सुचीबाट अब भने प्रदीप बाहिरिएका छन् । अनमोलको भने निरन्तरता नै छ । ‘लिलिबिली’मा सँगै काम गरेपछि लोकप्रिय बनेको प्रदीप र जसिता गुरुङको जोडी ‘लभ स्टेसन’मा दोहोरिदै छ ।

प्रदीपले डेब्यु फिल्म ‘इस्केप’मा रीमा विश्वकर्मासँग जोडी बाँधेका थिए । त्यसपछि ‘प्रेमगीत’मा पूजा शर्मा, ‘प्रेमगीत २’मा अश्लेशा ठकुरी, ‘लिलिबिली’मा जसिता गुरुङसँग जोडिए । डेब्यु बाहेक उनका बाँकी तीन फिल्म लगातार हिट भए । पाँचौ फिल्म ‘रोज’मा परमिता राज्यलक्ष्मी राना र मिरुना मगरसँग बाँधिएको जोडी भने फलदायी हुन् सकेन ।

बक्सअफिसमा ‘रोज’ असफल भएपछी प्रदीपले फिल्म ‘लभ स्टेसन’ गर्दैछन् । यो फिल्ममा उनले जसितासँग नै रोमान्स गर्नेछन् । पछिल्लो समय प्रदीप र जसिता प्रेममा रहेको चर्चा छ । त्यसैले पनि नयाँ हिरोइन भित्र्याउने रेसमा प्रदीपले पूर्णविराम लगाएका हुन् सक्छन ।

उता लगातार पाँच फिल्म हिट दिएका अनमोल तुरुन्तै यो सुचीबाट हट्नेवाला छैनन् । डेब्यु फिल्ममा ‘होस्टेल’मा प्रकृति श्रेष्ठ, ‘जेरी’मा आना शर्मा, ‘ड्रिम्स’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘गाजलु’मा सृष्टि श्रेष्ठ र ‘कृ’मा अदिति बुढाथोकीसँग रोमान्स गरिसकेका अनमोलले ‘क्याप्टेन’मा उपासना सिंह ठकुरीसँग जोडी बाँधेका छन् । जुन फिल्म प्रदर्शनको तरखरमा छ ।

त्यस्तै छायाँकनरत फिल्म ‘ए मेरो हजुर ३’मा अनमोलको अपोजिटमा अभिनेत्री/निर्देशक झरना थापाकी छोरी सुहाना थापा छिन् । पाइपलाइनमा रहेको फिल्म ‘ब्याचलर बन्टी’मा उकुसा गिरीसँग स्क्रिन शेयर गर्नेछन । रोचक कुरा त यो छ, अनमोल स्क्रिन शेयर गरेका र गर्न बाँकी हिरोइन सबै डेब्यु अनुहारस्वरुप नेपाली फिल्ममा भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्