महाशिवरात्रीको विदा खान महाभिडन्त



रंगखबर, काठमाडौँ – वर्षमा सय बढी फिल्म बन्ने नेपाली फिल्म उद्योगमा फिल्म जुध्नु र घाटा बेहोर्नु ठुलो कुरो होइन । तर, यहाँ त संयोगले भन्दा पनि विदा खान र इगोका रुपमा फिल्म जुध्छन ।

यो वर्ष इगोको रुपमा, भदौ २२ गते ‘रामकहानी’ र ‘रोज’जस्ता ठुला फिल्म जुधे । तर, इगोले दुवैलाई फाइदा गरेन । बरु ‘रोज’लाई अत्याधिक घाटा लाग्यो । दशैँको सम्भावित ठुलो भिडन्त ‘छक्का पन्जा ३’ र ‘जय भोले’मा, भदौ २२ भिडाईले महत्वपूर्ण भूमिका खेल्यो । अन्तत: एकै जनराका फिल्म केहि दिनको ग्यापमा रिलिज हुने भए । यी दुई फिल्म इगो र विदा खानलाई जुध्नेवाला थिए ।

यी फिल्मको भाले जुधाई पश्चात नेपाली उद्योगको नजर फागुन १७ मा मोडिएको छ । यो मितिमा प्रदीप भट्टराईको ‘जात्रै-जात्रा’ पहिले नै फिक्स भैसकेको थियो । ‘जात्रा’ र ‘शत्रु गते’जस्ता लोकप्रिय र सफल फिल्म निर्देशन गरिसेका भट्टराईको ‘जात्रै-जात्रा’  प्रतिक्षित थियो । ‘जात्रा’को सिक्वेलमा विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका छ ।

केहि दिन अगाडीसम्म खासै चर्चामा नरहेको फागुन १७ को डेट एका-एका सबैको मुखमा झुन्डिन सफल भयो । जब भुवन केसीले ‘क्याप्टेन’को लागि रिलिज डेट फिक्स गरिदिए । तिहार अगाडीका बिभिन्न डेटमा रिलिजको चर्चा भएपनि फिल्म फागुनसम्म तन्कियो । कारण, फिल्मको अधुरो कार्यलाई देखाइयो ।

बक्सअफिसमा पैसा छाप्ने मेसिनको रुपमा वर्णन गरिदै आएका, अभिनेता अनमोल केसीका कारण ‘क्याप्टेन’को पनि वर्षको प्रतिक्षित फिल्म हो । दुई प्रतिक्षित फिल्मको जुधाईले उद्योगमा तरंग पैदा गरेको छ ।

कारण, जे सुकै हुन्: फागुन १७ मा दुई ठुला फिल्म जुध्नुमा लगातार परेको सार्वजनिक विदालाई मान्न सकिन्छ । १७ गते शुक्रबार रिलिज हुँदा १८ गतेको शनिबार, २० गते सोमबारको महाशिवरात्री र २३ गते विहिबार ग्याप्लो ल्होसारको विदा दुवै फिल्मले मनाउने छन् ।

त्यस्तै ग्याप्लो ल्होसारदेखिको विदा शुक्रबार नारी दिवस हुँदै दोस्रो शनिबारसम्म पुग्नेछ । यो भनेको दशैँको जतिकै विदा हो । अहिले दशैँमा ५ दिन मात्र सार्वजनिक विदा छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्