Preview: ‘छक्का पन्जा ३’ले गर्ला त एतिहाँसिक कमाई ?



रंगखबर, काठमाडौँ – ‘६ एकान ६’बाट फिचर फिल्म निर्माणमा होमिएका दीपा-दीपक अहिले नेपाली फिल्मी बक्सअफिसका सर्वाधिक प्रभावशाली मेकरको रुपमा दरिएका छन् । करिब पाँच वर्षको अन्तरालमा यी दुईले निर्माण गरेका फिल्म नेपाली बक्सअफिसका लागि अपरिहार्य जस्तै बनेका छन् ।

जब दीपा-दीपक क्याम्पका फिल्म रिलिज हुन्छन, बक्सअफिस चलयमान हुन्छ । ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ले दीपक-दीपा क्याम्पलाई  स्थापित गरे । नेपाली फिल्म फरकधारमा चलिरहेका बेला ‘छक्का पन्जा’को एतिहाँसिक व्यापारले ट्रेन्ड नै परिवर्तन गरिदियो । फलस्वरूप अहिले नेपाली फिल्म कमेडीमय बनेको छ । ७५ प्रतिशत बढी फिल्म कमेडीमै निर्माण हुन् थालेका छन् । अन्य विधामा जति पनि फिल्म बन्छन, कहिँ-कतै मार्केट भ्यालु हेरेर कमेडी घुसाइञ्छ । कारण व्यावसायिकरण ।

व्यावसायीकरणको कमेडी ट्रेन्डमा पुरै फिल्म उद्योग लागिपरे पनि लिडरको भूमिका दीपक-दीपाकै फिल्मले गरिरहेका छन् । त्यसमध्ये कमेडी टेलिसिरियलका कलाकारले यसको भार थामिरहेका छन् ।

पहिलेका दुई फिल्म हिट दिएको यो क्याम्पले ‘छक्का पन्जा’ ब्लकबस्टर दियो । जसको १६ करोड कलेक्सन नेपाली बक्सअफिसकै सर्वाधिक हो । दोस्रो ब्लकबस्टर ‘छक्का पन्जा २’ले सुरुवाती दिनमा कमाईका थुप्रै रेकर्ड राख्दै बक्सअफिसमा आफुलाई प्रभावशाली सिद्द गर्यो । ‘छक्का पन्जा’को रेकर्ड तोड्ने रेसमा रहेको फिल्म कमजोर माउथ पब्लिसिटीका कारण साढे १४ करोडमै रोकियो ।

अब ‘छक्का पन्जा’को तेस्रो सृंखला रिलिजको मुखमा छ । अग्रिम बुकिङमा सर्वाधिक शोज पाएर फिल्मले रेकर्ड राखिसकेको छ । बलिउड र हलिउड फिल्मलाई मात्र दिइने शोज ‘छक्का पन्जा ३’ले पाएको छ । यसलाई नेपाली फिल्मको लागि ठुलो उपलब्धि मान्न सकिन्छ ।

शोज मात्र धेरै होइन ‘छक्का पन्जा ३’ले अग्रिम बुकिङमा पनि राम्रो गरिरहेको छ । त्यसैले बजारमा फिल्मको बम्पर ओपनिङ हुने अनुमानहरु सुरु भैसकेका छन् । ‘छक्का पन्जा २’ले पहिलो दिन डेढ करोड भन्दा माथि कलेक्सन गर्दै रेकर्ड राखेको थियो । रिलिज पाँच दिनसम्म दैनिक जसो करोड माथिको कलेक्सन गरेको फिल्मले, विकेन्डमा पनि सर्वाधिक कमाईको रेकर्ड राख्न सफल भएको थियो ।

अब ‘छक्का पन्जा ३’को लागि दोस्रो सृंखलाको ‘फर्स्ट डे कलेक्सन’ र ‘विकेन्ड कलेक्सन’को रेकर्ड अगाडी छन् । सोलो रिलिज, सर्वाधिक शोज/हल संख्या र आक्रामक अग्रिम बुकिङलाई हेर्दा ‘छक्का पन्जा २’का सुरुवाती रेकर्ड नजिक देखिएका छन् । पहिलो सृंखलाको रेकर्ड तोड्न भने फिल्मलाई राम्रो ‘वर्ड अफ माउथ’को जरुरत पर्नेछ । ‘छक्का पन्जा’ले १६ करोड व्यापार गर्न करिब सय दिन लगाएको थियो । ‘छक्का पन्जा ३’ले पहिलो दिन सजिलै १ करोड माथिको अंक ल्याउने अनुमान छ ।

‘छक्का पन्जा ३’ले राम्रो ‘वर्ड अफ माउथ’ नपाएमा दोस्रो सातामा कमेडी फिल्म ‘जय भोले’ले स्वत असर गर्नेछ । र, ‘छक्का पन्जा’को एतिहाँसिक रेकर्ड तोड्ने बाटो भत्किन सक्छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

फिल्म घटस्थापनाको अवसर पारि बुधबारै रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्