फेरि पनि ‘दशैँ आयो’



रंगखबर, काठमाडौँ – आज असोज २४ गते बुधबारबाट २०७५ सालको बडा दशैँ सुरु भएको छ । चन्द्र उदयको पहिलो दिन घर-घरमा घट स्थापना गरि देवी भगवतीको पूजा गर्दै दशैँको सुरुवात हुन्छ ।

चन्द्र उदयबाट सुरु भएको दशैँ कोजाग्रत पुर्णिमामा पुगेर सकिन्छ । यो विचको समय नेपाली हिन्दुधर्मालम्बिहरुको लागि विशेष रहने गर्छ । नेपाली हिन्दुहरुको महान पर्व विशेष गरि, आफन्तजनको भेटघाट, मिठो परिकार, नयाँ लत्ताकपडा र आपसी सदभावका लागि चिनिने गर्छ ।

आजबाट सबै क्षेत्रलाई दशैँले छुँदा, नेपाली फिल्म क्षेत्र पनि यो विशेष चाडबाट अछुतो रहन सक्दैन । र, दशैँ भन्न वितिकै सबैको मनमा गुन्जिने एक मात्र गीत हो ‘दशैँ आयो’ । ब्लकबस्टर फिल्म ‘मुगलान’मा समावेश यो गीतले नै दशैँ आएको भान गराउँछ । दशैँका लागि बनेका गीत सम्झिँदा, यो गीतलाई विर्साउन सक्ने अरु गीत बनेकै छैनन् ।

‘मुगलान’ वैदेशिक रोजगारमा बनेको फिल्म थियो । विदेशमा कमाउन जाने नेपालीले दशैँको सम्झनामा झेल्नु पर्ने पिडा बोल्ने गीतले अहिले पनि मन छुन्छ । परिवार र आफन्तको सम्झनामा मन कुडिन्छ । यो गीत बन्दाताका नेपालीहरु पैसा कमाउन भारतसम्म मात्र पुग्ने गर्थ्ये । नजिकैको देशबाट प्राय: नेपालीलाई दशैँमा घर फर्कन त्यति गाह्रो हुन्थेन ।

पछिल्लो दशकमा नेपालीहरु टाढा-टाढाका देशमा महँगो पैसा तिरेर कमाउन जान्छन । भनेको बेलामा उनिहरु फर्कन सक्ने अवस्था हुँदैन । यो गीत सुन्दा विदेशीएका नेपालीहरु घर र दशैँको सम्झनामा भक्कानिनु पर्छ । त्यसकारण अहिलेसम्म पनि ‘दशैँ आयो’ गीत लोकप्रिय छ । त्यसैले त पुरानै गीत भएपनि यो गीतले युट्युबमा ५३ लाखको हारहारीमा भ्युज बटुलेको छ ।

सर्वाधिक भ्युज पाउने पुराना गीत मध्ये यो अग्रस्थानमा आउने गर्छ ।

यो कालजयी गीतमा लोकनाथ सापकोटाले संगीत भरेका थिए । शब्द सृजना पनि उनकै थियो । स्वरमा भने उदित नारायण झा र दीपा झाले सहकार्य गरेका थिए । भिडियो पनि अहिलेसम्म पावरफुल मानिने गीतमा दीलिप रायमाझी, झरना थापा, विपना थापा, रमित ढुंगाना र सुशील क्षेत्रीले कम्मर मर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्