महिला हिँसा भर्सेस सुन तस्करी !



रंगखबर, काठमाडौँ – साल ०७५ को अर्धबार्षिक सकिदा ५० को हारहारीमा फिल्म रिलिज भैसकेका छन् । बर्सेनी १०० को हारहारीमा फिल्म रिलिज हुँदा हप्तामा दुई वा दुई भन्दा बढी फिल्म जुध्नु नौलो होइन ।

दुई वा दुई भन्दा बढी फिल्मको भिडन्तमा जब प्रतिक्षित फिल्मबीच  प्रतिस्पर्धा हुन्छ । तब बक्सअफिस, दर्शक, हल र सम्वन्धित फिल्ममा संलग्न व्यक्तिहरुको मिडियामा चर्चा हुन्छ । जसले फिल्म क्षेत्रलाई चलयमान राख्छ । यो आधा वर्ष पुरा हुँदासम्म दुई ठुला भिडन्तले बजार पिटे ।

भदौ २२ ‘रामकहानी’ भर्सेस ‘रोज’ र दशैँको ‘छक्का पन्जा ३’ भर्सेस ‘जय भोले’ले यो वर्ष दर्शकका लागि भिड्नु पर्यो । जहाँ ‘रामकहानी’ र ‘छक्का पन्जा ३’को पक्षमा दर्शक बढी देखिए । अबको पहिलो भिडाई ‘चङ्गा चेट’ र ‘मालिका’को हुनेछ । कार्तिक १६ को बक्सअफिस नतिजा अहिलेनै फिल्मकर्मी र दर्शक/पाठकका लागि कौतुहलताको विषय बनेको छ ।

रेखा थापाको अभिनय र निर्देशन रहेको ‘मालिका’ पूर्णतया नारीप्रधान हो । फिल्मले महिलामा हुने गरेका हिँसाका विरुद्द कथा उठान गरेको छ । पछिल्लो समय देशमा भैरहेका महिला हिँसाका विषय उठाएका कारण ‘मालिका’ले दर्शकको ध्यान तानिरहेको छ ।

फिल्ममा रेखाले कर्णाली प्रदेश, जाजरकोट जिल्लाकी कमला वलीलाई मुख्य भूमिकामा भित्र्याएकी छन् । फिल्मका गीत औसत हिट छन् । प्रदर्शन अगाडी ‘मालिका’को सबल पक्षमा यसको विषयबस्तु, रेखा थापा नै हुन् । रेखा आफ्नै दममा फिल्म हिट दिने सामर्थ्य राख्छिन । तर, पछिल्लो रिलिज ‘रुद्रप्रिया’बाट भने रेखाले सफलता हात पार्न सकिनन् । जुन होमप्रोडक्सनको असफल फिल्म थियो ।

बाहिरी व्यानरका अन्य फिल्म पनि असफल भएका कारण रेखालाई चुनौती छ । फिल्म सिंगलमा राम्रो व्यापार गर्ने अनुमान छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘चङ्गा चेट’ सुन तस्करीको कथामा छ । यसले चलिरहेको ट्रेन्ड कमेडीलाई आत्मसाथ गरेको छ । प्रियंका कार्की, आयुषमान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री, परमिता राज्यलक्ष्मी शाहजस्ता युवापुस्ता माझ लोकप्रिय कलाकारले ‘चङ्गा चेट’को वजन बढाएको छ । त्यसमा हिट गीत ‘गोजीमा दाम छैन’ फिल्मको अर्को सबल पक्ष हो ।

‘पशुपति प्रसाद’ जस्तो लोकप्रिय र सफल फिल्म निर्देशन गरेका दीपेन्द्रका पछिल्ला दुई फिल्म असफल भए । समिक्षकबाट पनि खासै तारिफ बटुल्न सकेनन् । दीपेन्द्रलाई ‘पशुपति प्रसाद’को साख ‘चङ्गा चेट’बाट फर्काउनु छ ।

सार्वजनिक प्रचार सामग्रीलाई हेर्दा ‘चङ्गा चेट’ले सिंगलदेखि मल्टीप्लेक्सका दर्शक तान्न सक्छ । पछिल्लो समय कमेडी फिल्मको बाढी नै छ । एकाध फिल्मलाई छोडेर प्राय: कमेडी फिल्मलाई दर्शक साथ दिएका छैनन् । कमेडीको ह्याङमा रहेका दर्शकलाई हलसम्म तान्न ‘चङ्गा चेट’लाई चुनौती पनि उत्तिकै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्