दशैँमा सोलो रिलिज गर्छु भनेर नसोचे हुन्छ – अशोक शर्मा



रंगखबर, काठमाडौँ – पछिल्लो केहि वर्ष यता दीपक-दीपा क्याम्पबाट निर्माण हुने फिल्म दशैँमा रिलिज हुँदै आइरहेका छन् । गत वर्षको दशैँमा ‘छक्का पन्जा २’ सोलो रिलिज भयो । अन्य फिल्मले ‘छक्का पन्जा’को ब्राण्डलाई हेरेर बक्सअफिस मैदान छोडिदिए । फिल्मले रेकर्ड तोड कमाई पनि गर्यो ।

छायाँकनमा जानु भन्दा पहिले नै दशैँलाई रिलिज मिति तोक्यो ‘छक्का पन्जा ३’ले । यसपटक पनि सोलो रिलिज हुने मौका पाएको ‘छक्का पन्जा ३’सँग जुध्न ‘जय भोले’ तयार भयो । भलै, ६ दिन पछाडी ‘जय भोले’ रिलिज भएपनि हल संख्या र शोजका आधारमा ‘छक्का पन्जा ३’ र ‘जय भोले’ जुधाई प्रष्ट देखियो ।

सँगै आउने मनसाय बनाएको ‘जय भोले’ले दोस्रो सातामा पनि ‘छक्का पन्जा ३’लाई उछिन्न्न सकेन । ‘छक्का पन्जा ३’ले बक्स अफिसमा आँधी ल्याउँदा, ‘जय भोले’ पनि सन्तोषजनक व्यापार गर्न सक्यो ।

बुधबार ‘जय भोले’को एक हप्ते कलेक्सन सार्वजनिक गर्ने क्रममा, निर्देशक अशोक शर्माले आगामी वर्षको दशैँमा ‘रातो टिका निधारमा’ रिलिज गर्ने आधिकारिक घोषणा गरे ।

उनले भने ‘दशैँमा मैले एक्लै फिल्म लगाउछु भनेर, अब कसैले पनि नसोचे हुन्छ । दुई – तीन ओटा कुनै पनि हालतमा आउँछन । यो रिलिजका लागि राम्रो डेट हो । यसपटकका दुवै फिल्मले राम्रो व्यापार गर्न सके ।’

उनले दशैँमा जति नै फिल्म आउँदा पनि ‘रातो टिका निधारमा’ पछाडी नहट्ने अडान लिदै पुन: दशैँमा एक्लै फिल्म रिलिज गर्छु भनेर नसोच्न आग्रह गरे ।

आगामी दशैँका लागि ‘आई एम ट्वान्टी’ र ‘बकम्फुसे राजा’ले रिलिज घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्