‘मालिका’ हेरेका दर्शक भन्छन ‘सबैले हेर्नैपर्ने फिल्म’



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मालिका’लाई दर्शकले अत्याधिक रुचाएका छन् । रेखा थापा निर्देशित एवं अभिनित फिल्मको कन्टेन्ट बालियो पाएको दर्शक प्रतिक्रिया छ । दर्शकले ‘मालिका’लाई हरेक नेपालीले हेर्नैपर्ने बोलेका छन् ।

शुक्रबार देशभर औसत व्यापार गरेको भएपनि शनिबार हलमा राम्रो दर्शक आएको रेखाले बताइन । उनका अनुसार शनिबारको दर्शक संख्या गत वर्ष प्रदर्शित ‘रुद्रप्रिया’को भन्दा माथि छ । ‘बजार कमेडीले खाइरहेको बेला कन्टेन्ट बेस फिल्ममा दर्शक आउने/नआउने दुविधा थियो । हामिले जति सोचेका थियौँ, त्यो भन्दा बढी मात्रामा दर्शक संख्या छ ।’ शनिबार कुमारी हलमा दर्शक प्रतिक्रिया बुझ्न गएकी रेखाले भनिन् ।

शनिबार दिउँसो १२ बजेको शो हेर्न, रेडन कलेजका विद्यार्थीले ३ ओटा बस रिजर्ब गरेका थिए । प्रदर्शन अगावै थुप्रै ठाउँमा च्यारिटी सम्पन्न भैसकेको फिल्मप्रति महिला अभियन्ताहरुले रुचि देखाइरहेका छन् । ‘जति पनि ‘मालिका’ हेर्न आउनु भएको छ । उहाँहरु आफ्नो मुद्दा भन्दै आउनु भएको छ । महिला हिँसा अहिले हरेक नेपालीले भोग्नु परेको समस्या हो । त्यसैले ‘मालिका’ले अहिलेसम्म शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सम्भवत: मेरो करिअरमा सर्वाधिक तारिफ पाएको फिल्ममा ‘मालिका’ पर्छ ।’ रेखाले थपिन ।

बालविवाह, चेलीबेटी बेचबिखन, बलात्कार, घरेलु हिँसालगायतका मुद्दा उठाएको फिल्ममा नन-एक्टर कमला वलीको पनि मुख्य भूमिका छ । सरस्वती थापाले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता नर कार्की हुन् ।

 

प्रतिक्रिया दिनुहोस्