‘छक्का पन्जा ३’को १३ हलमा रेकर्ड, कमाई कति ?



रंगखबर, काठमाडौँ – असोज २४ गते रिलिज भएको फिल्म ‘छक्का पन्जा ३’ले प्रदर्शनको गौरवमय ५१ दिन पार गरेको छ । फिल्म अहिले देशभरका १३ हलमा लगातार प्रदर्शनरत छ ।

राजधानीका सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल, गोपीकृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स, बाराही मुभिज र गंगा सिनेमा गरि ९ हल र मोफसल तर्फ कालिका सिनेमा (बुटवल), जलमा (नारायणगढ), बागेश्वरी (नेपालगन्ज), र विन्दवासिनी (पोखरा)मा दीपाश्री निरौला निर्देशित ‘थर्ड भेन्चर’ले ५१ दिने प्रदर्शन कायम गर्न सफल भएको हो ।

५१ दिने दौडमा फिल्मले देशभरबाट १७ करोड माथिको कलेक्सन गरिसकेको रिपोर्ट समेत प्राप्त भएको छ । सफलताको खुसियाली साट्न निर्माण पक्षले छिट्टै नै सक्सेस पार्टी आयोजना गर्दैछ । ‘छक्का पन्जा’ सिरिजको पहिलो भागले सय दिने प्रदर्शन कायम गरेको थियो । भने ‘छक्का पन्जा २’ले ५१ दिन पार गर्न सफल भएको थियो ।

कलेक्सनको हिसाबमा ‘छक्का पन्जा ३’ नेपाली बक्सअफिसमा सर्वाधिक पैसा छाप्ने फिल्म बनिसकेको छ । यसको पहिलो सृंखलाले १६ करोड र दोस्रोले साढे १४ करोड कलेक्सन गरेको निर्माण पक्षको दावी छ । दुवै सृंखला दीपाश्रीकै निर्देशनमा बनेका थिए ।

सरकारी विद्यालय र निजी विद्यालयविच हुने राजनीतिक विभेदको कथालाई प्रस्तुत गरेको फिल्ममा दीपकराज गिरी, दीपिका प्रशाई, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, स्वस्तिमा खड्का, निर शाह, अनुराग कुँवरलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्