किम्फ २०१८: यस्ता छन् यो वर्षका विशेषता



रंगखबर, काठमाडौँ – काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मंसीर १५ देखि २५ गतेसम्म (७ देखि ११ डिसेम्बर) हुने भएको छ । आइतबार आयोजकले पत्रकार सम्हेलन गरि सोह्रौं संस्करणका विशेषताका बारेमा जानकारी दिएको छ ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सम्पन्न हुने फेस्टिभलले ‘वुमन मुभ माउन्टेन्स’ भन्ने नारा बोकेको छ । जसको उद्येश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडी ल्याउनु हो । यो वर्ष किम्फमा नेपाललगायत ३१ वटा देशका ७० बढी फिल्म प्रदर्शन हुनेछन । वृतचित्र, कथानक, लघु, प्रयोगवादी र एनिमेसन फिल्महरु फेस्टिभलको लागि छनोट छन् ।

यसपटक किम्फले नेपाली ट्राभल्ससँग मिलेर ‘ट्राभेल इन एन अटीच्युड’ शिर्षकमा ३५ वर्ष मुनिका युवाहरुको सर्ट फिल्म प्रतियोगिता गर्दैछ । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट ३ छान्नेछन् । त्यस्तै नेपाल पानोर अन्तर्गतका २० फिल्मबाट उत्कृष्ट वृतचित्र र कथानक चलचित्र छानिनेछ ।

त्यस्तै उत्कृष्ट पर्वतीय फिल्म र अडिएन्स च्वाइस अवार्ड पनि फेस्टिभलमा समेटिएका छन् । साथै सागरमाथा चढ्ने ५ जना नेपाली महिला पत्रकारको फोटो प्रदर्शनी, पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल र उमा विष्टको ‘आइ एम प्योर’ भन्ने शिर्षकको फोटो प्रदर्शनी यो वर्षका विशेषता हुन् ।

प्रतियोगिताको मुख्य आकर्षणमा अस्ट्रेलियन फिल्ममेकर जेनिफर पिडम र केसाङ छेतेनद्वारा संचालन हुने ‘मास्टर क्लास’ छ । किम्फले ‘माउन्टेन म्याटर – अ कल फ्रम द हिमालयज’, ‘ब्रेकिङ कोड रेड – अ कन्भरसेसन एण्ड हाउ टु सी इट’, ‘ब्रेकिङ ब्यारियर्स – पर्स्पेक्टिभ अन वुमन एण्ड एड्भेन्चर’ आदि विषयमा छलफल चलाउने छ ।

प्रतिक्रिया दिनुहोस्