‘ए मेरो हजुर ३’ टिजरमा अनमोल र सुहानाको प्रफेक्ट केमेस्ट्री



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १३ सेकेन्ड लामो प्रेमिल टिजरमा अनमोलसँगै डेब्यु गर्ल सुहाना थापालाई प्रस्तुत गरिएको छ ।

झरना थापा निर्देशित दोस्रो फिल्मबाट उनकै छोरी सुहानाले रजतपटमा पाइला टेक्दैछिन् । टिजरमा बोल्ड एण्ड ब्युटिफुल देखिएकी सुहानाको अनुहारले झरनाको झल्को दिन्छ । 

कुनै समय नेपाली अभिनेत्रीको दौडमा एकक्षत्र राज गरेकी झरनाको बिटो सुहानाले सम्हाल्ने अनुमान गरिएको छ । अनमोलसँगको उनको केमेस्ट्री मज्जैले सुहाएको छ । 

‘ए मेरो हजुर’का अघिल्ला दुई सृंखला बक्सअफिसमा सुपरहिट भएका थिए । सुनिलकुमार थापा निर्मित ‘ए मेरो हजुर ३’मा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रिअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

चैत २९ गते रिलिज हुने फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ/बाबुराम दाहाल/सुमन पौडेल/प्रतिक पौडेलको पटकथा/संवाद र कल्याण सिंह/कोशिस क्षेत्री/ प्रतिक पौडेल/आशिष अविरलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्