निर्देशकले २ करोड ५० लाख डुबाइदिए – गोमा बिष्ट थापा



रंगखबर, काठमाडौँ – माघ १८ गते प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ अहिले फाट्टफुट्ट हलमा जेनतेन चलिरहेको छ । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले २ करोड ५० लाख खर्चिएर बनाएको फिल्म बक्सअफिसमा सुपरफ्लप भयो ।

यसले निर्माताहरुलाई चेनको निन्द्रा दिने त कुरै भएन । सुशील सिटौला, प्रशान्त ताम्राकार, सुपुस्पा भट्ट, सुबेक्षा खड्का अभिनित एक्सन फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका थिए । फिल्म राम्रै बनेको चर्चा चलिरहँदा पनि बजेट रिकभर हुने गरि व्यापार गर्न नसक्नुको पछाडी निर्देशक गोविन्द सिंहको हात रहेको निर्मात्री गोमा विष्टले आरोप लगाएकी छन् ।

कान्तिपुर साप्ताहिकमा दिएको अन्तरवार्तामा निर्देशकले बिभिन्न प्रलोभनमा पारेर आफ्नो २ करोड ५० लाख स्वाहा पारिदिएको बताएकी छन् । उनका अनुसार  निर्देशकले ४५ दिने सेड्युल दिँदै ८० लाख फिल्म तयार गरिदिने वचन दिएका थिए । तर, ९५ दिन लगाएर २ करोड ५० लाख रुपैयाँ खर्चीदिए । जसले गर्दा निर्मात्री ठुलो ऋणमा डुबेकी छन् ।

उसो त निर्देशकको कामले गर्दा गोमाले सुटिङ सेटबाटै निर्देशकलाई निकाल्ने निर्णयमा पुगेकी थिइन् रे । तर, अर्का निर्माता दीपेन्द्रको  आडले उनि हिच्चेकी थिइन् । फिल्म छायाँकन लम्बिदा समयमै रिलिज गर्न नसकेको र सहि समय नभएकाले दर्शक हलसम्म नपुगेको उनको ठम्याई छ ।

‘हामीले मंसिर १४ मा चलचित्र प्रदर्शन गर्ने भनेका थियौं तर, उहाँले समयमै काम पुरा नगर्दा उक्त मितिमा चलचित्र ल्याउन सकेनौँ । एउटा कुरा मान्नुहोस्, मिठो छ भन्दैमा जाडोमा आइसक्रिम चल्दैन, खरबुजा कसैले खाँदैन । हामीले मंसिरमा चलचित्र ल्याउन नसक्दा भनेजस्तो चलचित्रको व्यापार भएन, लगानी उठाउन नसकिने पक्का जस्तै छ । चिज त राम्रो निस्कियो तर समयमै नआएपछि नतिजा राम्रो भएन । ‘ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्