अनमोलको स्टारडमले तान्यो दर्शक ‘क्याप्टेन’को दुई दिने कलेक्सन यति



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले प्रदर्शनको दोस्रो दिन बम्पर व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । शुकबार केहि कमजोर देखिएको व्यापार शनिबार उच्च विन्दुमा पुगेको छ ।

शनिबार सिंगलका अधिकाँस पर्दा हाउसफुल बन्दा मल्टीप्लेक्समा पनि दर्शकको चाप उच्च रह्यो । वितरकहरुको भनाइलाई आधार मान्ने हो भने ‘क्याप्टेन’ले दुई दिनमा ‘छक्का पन्जा ३’ पछिकै उत्कृष्ट व्यापार गरेको छ ।

वितरक मनोज राठीका अनुसार फिल्मले पहिलो दिन देशभरबाट ६० लाख ग्रस बटुलेको थियो । भने, दोस्रो दिन १ करोड २५ लाखको अंक छुने अनुमान गरिएको छ । दुई दिनको व्यापारले अनमोलको स्टारडम पुष्टि गरिदिएको छ । बाँकी दिनको व्यापार दर्शकको ‘वर्ड अफ माउथ’मा भर पर्नुपर्न्नेछ ।

शनिबार दिउँसोको शोमा दर्शकसँग अन्तरक्रिया गर्न अनमोलसहितको टिम गोपीकृष्ण मुभिज पुगेको थियो । गोपीकृष्णमा विहान ३ र दिउँसो ५ शोजसम्म हाउसफुल भएका थिए । अनमोल हल पुग्दा दर्शकको भिड थामीनसक्नु थियो ।

हलमा पुग्दा अनमोल नामको नारा घन्किएको थियो । त्यसविच उनले दर्शकसँग सेल्फी लिँदै फुटबल उपहार दिए । अनमोलले नेपालको झण्डा बोक्दा राष्ट्रिय गानमा दर्शकले साथ दिएका थिए । साथै, ‘क्याप्टेन’ अति नै मन परेको प्रतिक्रिया दर्शकबाट ओइरिएको थियो ।

पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड, बिराटनगर, नेपालगञ्ज र राजधानीका गुण, अष्ट, कलंकी, बाराहीलगायतका स्टेशनमा दर्शक भिड उल्लेख्य रह्यो ।

दिवाकर भट्टराई निर्देशित फिल्मले इशान खड्का नामक युवाको जीवनमा आइपर्ने उतारचढावको कथा उठाएको छ । जहाँ,  इशान (अनमोल)को रुचि राष्ट्रिय फुटबल खेलाडी बन्ने हुन्छ । समिक्षकबाट भने फिल्मले सुन्न लायक समिक्षा पाउन चुकेको छ ।

भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’मा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सनविक्रम राई, बुद्दि तामाङलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्