रंगखबर, काठमाडौँ – चैत १५ को शुक्रबारका लागि नेपाली मल्टीप्लेक्स हलले अग्रिम बुकिङका शोज निर्धारण गरेका छन् । यो साता नेपाली ‘साइँली’ र ‘शुभ लभ’ गरि बलिउडको ‘जंगली’ प्रदर्शनमा आउदैछन् ।
पछिल्लो सातामा रिलिज ‘केसरी’, ‘कागजपत्र’ र ‘बदला’लाई सहित यो साता मल्टीप्लेक्सले जम्मा १ सय ३४ शोज निकालेका छन् । अनमोल केसीको ‘क्याप्टेन’ रिलिज हुँदा १ सय ५० शोज निर्धारण गरिएको थियो ।
१ सय ३४ मध्ये ८२.०८ प्रतिशत शो नयाँ रिलिजका लागि छुट्याइएको छ । भने, बाँकी १७.९१ प्रतिशतमा पुराना फिल्म छन् । कम शोज निकाले पनि नयाँ रिलिजले यो साता उल्लेख शोज पाएका छन् । ‘क्याप्टेन’, ‘द ब्रेकअप’ र ‘लुकाछिपी’ रिलिज हुँदा फ्रेस रिलिज अन्तर्गत जम्मा ७२ प्रतिशत शोज निकालिएको थियो ।
प्रतिशतमा ‘साइँली’को शोज ‘क्याप्टेन’को भन्दा धेरै
रामबाबु गुरुङ निर्देशित ‘साइँली’ले ४०.२९ प्रतिशत शोज कब्जा गरेको छ । यो अनमोलको ‘क्याप्टेन’ भन्दा ४ प्रतिशत बढी हो । दयाहाङ राई, गौरव पहारी र मेनुका प्रधान स्टारर फिल्मलाई क्युएफएक्सले आफ्ना ९ स्टेशनमा ३२ शो दिएको छ ।
त्यस्तै बिग मुभिजले ६, एफक्युबले ५, सिडिसी/बिएसआरले समान ४/४ र क्युज सिनेमाजले ३ शो तय गरेका छन् ।
‘शुभ लभ’लाई १७.९१ प्रतिशत
ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेल डेब्यु फिल्मले १७.९१ प्रतिशत शोमा अड्डा कायम गरेको छ । जसलाई क्युएफएक्सले १६, बिग मुभिजले ३, एफक्युबले २ र सिडिसी/बिएसआर/क्युजले समान १/१ शोज दिएका छन् । फ्रेस अनुहारका वावजुत सन्तोष बाबु लोहनी निर्देशित फिल्मको शो संख्यालाई सन्तोषजनक मान्न सकिन्छ ।
त्यस्तै बलिउडको एक्सन ड्रामा ‘जंगली’ २३.८८ प्रतिशत शोमा प्रदर्शन हुनेछ ।