वितरकको चपेटामा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’, मल्टीप्लेक्समा न्यून शो



रंगखबर, काठमाडौँ – यो साता नेपाली बक्सअफिस लक्षित गरि घरेलु फिल्म ए मेरो हजुर ३/यात्रा र विदेशी फिल्म पेट सेम्याटरी/हेल व्वाय/डम्बो रिलिज हुनेछन् ।

सबै फिल्म दर्शक प्रतिक्षित रहेकाले नेपाली फिल्म क्षेत्रमा तरंग पैदा भएको छ । एक साता अगाडीसम्म हलिउडका तीन फिल्म रिलिज तय थिएन । ‘हेलव्वाय’ छोडेर बाँकी दुई फिल्म साता अगाडी नै नेपाल रिलिज हुनेवाला थिए । तर, वितरकहरुको असमझदारीका कारण निर्धारित मितिमा रिलिज हुन् नपाएका फिल्म चैत २९ गते बाँध फुटाएर प्रदर्शनमा ल्याइएको छ ।

यसले गर्दा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’लाई ठुलो घाटा लागेको छ । मल्टीप्लेक्स तर्फको शोज बाँडफाँडमा यी फिल्मले न्यून संख्यामा अग्रिम शोज हात पारेका छन् ।

अघिल्लो साता नेपाल रिलिज हुन् नसकेको ‘क्याप्टेन’ मार्भल रिलिज गरिँदा ‘लभ स्टेशन’को व्यापारमा प्रत्यक्ष प्रभाव परेको थियो । तर, मल्टीप्लेक्सका चेनमा ‘लभ स्टेशन’ले उल्लेख्य शोज पाएको थियो ।

यो साताको अग्रिम शोज

नयाँ वर्षलाई लक्षित गरि पाँच फिल्म रिलिज हुँदा मल्टीप्लेक्सका पर्दामा यति नै संख्यामा पुराना फिल्म यथावत रहनेछन । १ सय ४९ शोज निर्धारण गरिएको शुक्रबार ८०.५३ प्रतिशत शोज फ्रेस रिलिजले ओगटेका छन् । भने, बाँकी १९.४६ प्रतिशतमा पछिल्लो साताका रिलिज फिल्म छन् ।

त्यस्तै जम्मा ४९.६६ प्रतिशत शोज नयाँ नेपालीले ओगटेका छन् । भने, ३०.८७ प्रतिशतमा हलिउडका तीन फिल्म छन् । वर्षका अन्तिम दुई नेपाली फिल्मले कम्तिमा ७० देखि ७५ प्रतिशत शोज पाउने अपेक्षा गरिएको थियो । बाढी सरह रिलिज गरिएका हलिउड फिल्मको चपेटामा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ परेका छन् ।

ए मेरो हजुर ३ लाई कति ?

अनमोल केसी र सुहाना थापा अभिनित प्रतिक्षित फिल्मले ३०.८६ प्रतिशत स्थानमा चित्त बुझाउनु परेको छ । यो ‘साइँली’को भन्दा १० र अनमोलकै ‘क्याप्टेन’ भन्दा ६ प्रतिशत कम हो ।

कम्तिमा ४० प्रतिशत बढी शोजको अपेक्षा गरिएको फिल्मलाई क्युएफएक्सले आफ्ना देशभरका ९ स्टेशनमा जम्मा २५ शोज निकालेको छ । त्यस्तै बिग मुभिज/सिडीसीले समान ५/५,  एफक्युब/बिएसआरले ४/४ र क्युजले ३ शो निर्धारण गरेका छन् ।

फिल्मको हाइप, ब्राण्ड भ्यालु र स्टार भ्यालुलाई हेर्दा यो आँकडा निक्कै कम हो ।

यात्रालाई जम्मा १८.७९ प्रतिशत

सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत अभिनित म्युजिकल लभस्टोरीले देशभरका मल्टीप्लेक्समा जम्माजम्मी १८.७९ प्रतिशत शो ओगटेको छ । रिलिज अगाडीको हाइपलाई मध्येनजर गर्दा कम्तिमा २५ प्रतिशत माथि यसले शोज पाउनु पर्ने थियो ।

फिल्मलाई क्युएफएक्सले १६, बिग मुभिज/एफक्युब/सिडीसीले समान ३/३, बिएसआरले २ र क्युजले १ शो निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्