‘एभेन्जर्स’ क्रेज: ‘छक्का पन्जा २’ले शो नै पाएन, ‘ए मेरो हजुर ३’लाई झट्का



रंगखबर, काठमाडौँ – शुक्रबारबाट पुन: रिलिज थाल्ने ‘छक्का पन्जा २’लाई झट्का लागेको छ । सँगै रिलिज हुने ‘एभेन्जर्स: इन्ड गेम’ले मल्टीप्लेक्समा कब्जा जमाएपछि ‘छक्का पन्जा २’लाई पुन: रिलिज निल्नु न ओकल्नु भएको हो ।

बैशाख १३ को मितिमा रिलिज हुने भनिएको ‘दाल भात तरकारी’ हलिउड फिल्म ‘एभेन्जर्स: इन्डगेम’का कारण एक साता पछि सर्नुपर्यो । हलिउडको बहुप्रतिक्षित फिल्मका लागि नेपाली बहुप्रतिक्षित फिल्मले बाटो छोडिदिए पछि बैशाख १३ को मिति नेपाली फिल्मका लागि खाली बन्यो ।

त्यसैको फाइदा उठाउदै निर्माता/कलाकार दीपकराज गिरी’ले यहि मितिमा ‘छक्का पन्जा २’को पुन: रिलिज हुने घोषणा गरे । दोस्रो रिलिज नै सहि कलाकार, निर्मातादेखि निर्देशक दीपाश्री निरौलाले पुन: रिलिजको लागि अन्तर्वार्तामा समय खर्चिए ।

डेढ वर्ष अगाडी नेपाली बक्सअफिसमा साढे १४ करोड ग्रस व्यापार गरेको फिल्मले पुन: राम्रो दर्शक साथ पाउने अपेक्षा गरिएको थियो । तर, ‘एभेन्जर्स’का अगाडी नेपाली ब्लकबस्तर सिरिज फिक्का देखिएको छ ।

देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले आफ्ना ९ स्टेशनमा जम्मा ३ शो दिएको छ । राजधानीमा एक शो पनि नपाएको फिल्मलाई मोफसलका ३ स्टेशनमा १/१ शो हात परेको हो । त्यो पनि शनिबार कटौती हुनेछ ।

त्यस्तै राजधानीका अन्य कुनै पनि मल्टीप्लेक्सले शो दिएका छैनन् । जुन, पर्दामा महँगो रकम खर्चिएर फिल्मले ट्रेलर पनि बजाइएको थियो ।

स्मरण रहोस, गत वर्ष रिलिज भएको तेस्रो सृंखला ‘छक्का पन्जा ३’ले अग्रिम बुकिङमा १ सय ९ शोज पाएको थियो ।

‘ए मेरो हजुर ३’लाई पनि ठुलो झट्का

त्यस्तै गत वर्षको अन्तिम शुक्रबार रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’लाई पनि ठुलो झट्का लागेको छ । ‘एभेन्जर्स’को उग्र क्रेजको अगाडी दुई सातादेखिको ‘ए मेरो हजुर ३’को दबदबा पनि फिक्का देखिएको छ ।

झरना थापा निर्देशित फिल्मले विहिबारसम्म ५० प्रतिशत बढी हिस्सा ओगटेको थियो । शुक्रबार त्यो हिस्सा घटेर ६.६६ प्रतिशतमा झर्नेछ । भने, शनिबारदेखि ३ प्रतिशत भन्दा कममा हुनेछ ।

यदि ‘एभेन्जर्स’ रिलिज नभैदिएको भए ‘ए मेरो हजुर ३’ले तेस्रो सातामा पनि आफ्नो दबदबा कायम राख्न सक्ने थियो ।

यो पनि पढ्नुहोस –

मल्टीप्लेक्सका ८९ प्रतिशत शो ‘एभेन्जर्स’लाई, त्यैपनि टिकट पाउनै मुस्किल

प्रतिक्रिया दिनुहोस्