रोहितको लगानीमा दीपक-दीपाको ‘छ माया छपक्कै’ घोषणा



रंगखबर, काठमाडौँ – ‘घामपानी’ र ‘गोपी’ जस्ता फिल्मका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘छ माया छप्पकै’को आधिकारिक घोषणा गरिएको छ ।

दीपक-दीपाको फिल्मलाई आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको व्यानरबाट प्रस्तुत गरिनेछ । तर, फिल्ममा रोहित अधिकारीले मात्र लगानी भर्नेछन् । यसका लागि मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र सल्लाहकार निर्देशक दीपाश्री निरौलाले पारिश्रमिक लिएका छैनन् । उनिहरुले लगानीकर्ता अधिकारीसँग फिल्मले दिएको मुनाफाको ५० प्रतिशत लिनेछन् ।

‘जहिले पनि हामि नयाँ प्रयोग गर्ने सोच राख्छौँ । त्यसैले पारिश्रमिक लिनु भन्दा पनि मुनाफाको ५० प्रतिशत लिने सोच गराएका हौँ । यदि फिल्मले मुनाफा दिएन भने एक सुक्को पनि पाउने छैनौँ ।’ कलाकार तथा पटकथाकार गिरीले बताए ।

राजधानीको पाँचतारे होटल सोल्टीमा भव्य कार्यक्रम बीच गरिएको घोषणामा प्रमुख अभिनेत्री केकी अधिकारी, दीपकराज, केदार र जितुले कमेडी प्रस्तुति दिएका थिए । दीपक-दीपाले निर्माण गरेका यसअघिका फिल्म यति बिघ्न रुपमा घोषणा गरिएको थिएन । शहरिया युवती र सोझो गाउँले युवक बीचको प्रेमकथाको प्रस्तुतिले फिल्मको मूल कथा प्रस्ट्याउँथ्यो । फिल्ममा दीपक र केकीले जोडी बाँध्नेछन् ।

केदार र जितु कार्यकारी निर्माता रहने फिल्मका बाँकी कलाकार छिट्टै सार्वजनिक गर्ने निर्देशक लामाले जानकारी दिए । लामाकै कन्सेप्टमा निर्माण हुने फिल्मको पटकथा दीपकराजले लेखेका हुन् । भने, उनलाई संवादमा केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् ।

जेठ पहिलो साताबाट छायाँकन जाने फिल्मलाई दशैँमा रिलिज गरिनेछ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र बिपिन मल्लको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्