छवि र शिल्पाविरुद्द हेमाको उजुरी, दुवै बहुविवाहको फन्दामा



रंगखबर, काठमाडौँ – दम्पति निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घरझगडाले चरम विन्दु नाघिसकेको छ । छविसँग छुट्टिनको लागि शिल्पाले मिडिया पुकारिरहेकी छन् । भने, छवि सम्वन्ध बचाउन मिडियाकै शरणमा परिरहेका छन् ।

यसै बीच दुईको घरझगडामा नयाँ मोड आएको छ । छविकी पहिलो पत्नी हेमा ओझाले दुवै विरुद्द बहुविवाहको उजुरी दिएकी छन् ।

उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा उजुरी दर्ता गरेकी हुन् । दुई सन्तानकी आमा हेमा ५३ वर्षकी हुन् । छवि र उनले २०४१ सालमा विवाह गरेका थिए ।

छविको बाहिरी युवतीसँगको चलखेलको बारेमा सुन्दै मात्रै आइरहेकी हेमाले कानुनि प्रमाण भेटेकी थिइनन् । जब शिल्पा र छविको घरझगडाले देश तात्यो । उनले छविकै अफिसको कर्मचारी मार्फत विवाहको प्रतिलिपि फेला पारिन । र, प्रहरीमा उजुरी दिइन ।

३ वर्ष अगाडी नै विवाह भएको बताइए पनि छविले शिल्पासँगको विवाह दर्ता गरेका थिएनन् । ६ महिना पहिले मिडियामा शिल्पा र छविको सम्बन्धको अन्त्य हुने खबर बाहिरिए पछि, दवाबमा आएर उनले शिल्पासँगको विवाह दर्ता गरेका थिए ।

लुकाएर राखेको विवाह दर्ता शिल्पा र छवि मिडियामा आएपछि छताछुल्ल भयो । त्यसपछि पहिलो पत्नी हेमालाई कानुनसम्म पुग्ने बाटो पत्ता लाग्यो ।

२०७५ साल पुष ११ गते गरिएको विवाह दर्ता हात लागेपछि हेमालाई बलियो प्रमाण हात लागेको छ । उनले कानुन बमोजिम दुवैलाई कारबाहीको माग राखेकी छन् ।

अब के गर्छ कानुनले ?

नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यस्तै, बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

छवि र शिल्पाको तस्विर: गूगल

प्रतिक्रिया दिनुहोस्